सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च, अस्पतालमा चाप बढ्दो
सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च, अस्पतालमा चाप बढ्दो
    • बेल संचार

    • १ चैत्र २०८१, शुक्रबार

सोलुखुम्बु ।

हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप तीव्र रूपमा फैलिएको छ। पछिल्ला केही सातादेखि जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ, जसले जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना गरेको छ। अस्पताल प्रशासनका अनुसार दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि अस्पताल पुगिरहेका छन्।

१५ शय्याको क्षमता रहेको फाप्लु अस्पतालमा हाल ५० जनाभन्दा बढी बिरामी भर्ना भइसकेका छन्, जसका कारण अस्पतालमा जनशक्ति व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको छ। अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाका अनुसार सबै बेड भरिएका छन्, जसले गर्दा सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीका लागि प्रयोग गर्नुपरेको छ।

अस्पतालमा भर्ना भएका अधिकतम बिरामीहरू भाइरल सङ्क्रमणका छन्। जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक भएकाले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,” शेर्पाले बताइन्।

स्वास्थ्यकर्मीहरूका अनुसार मौसम परिवर्तनसँगै भाइरल सङ्क्रमणको प्रभाव बढेको हुनसक्ने अनुमान गरिएको छ। स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ।

साताकाे चर्चित
सम्बन्धित