काठमाडौँ ।
आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार निशान अर्याल विजयी भएका छन्।
चैत ५ गते सम्पन्न स्ववियू निर्वाचनमा नेविसंघको सम्पूर्ण प्यानल नै विजयी भएको हो। कुल १७८ मत खसेकोमा अध्यक्ष पदका लागि निशान अर्यालले ९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरे। एक मत बदर भएको थियो।
निर्वाचनमा नेविसंघसहित तीन दलीय गठबन्धनका विद्यार्थी संगठन अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, तथा अन्य विद्यार्थी सङ्गठनहरू प्रतिस्पर्धामा थिए।
अन्य पदाधिकारीमा पनि नेविसंघका उम्मेदवारहरू विजयी भएका छन्। सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यहरूमा अनु मण्डल, राम भण्डारी, र याङजी गौडेल निर्वाचित भएका छन्।
समानुपातिक प्रतिनिधित्वतर्फ पनि नेविसंघले उच्च मत ल्याउँदै ३ सिट सुरक्षित गरेको छ। यो जितसँगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार चार स्ववियू निर्वाचनमा आफ्नो प्यानललाई विजयी गराउँदै आफ्नो प्रभाव कायम राख्न सफल भएको छ।