गाजा,
इसरायलले गाजामा भीषण हवाई आक्रमण गरेको छ, जसमा एकैदिन कम्तीमा ४०० जनाको मृत्यु भएको छ। अल जजीराका अनुसार यो आक्रमण युद्धविराम सुरु भएयताकै सबैभन्दा ठूलो हमला हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इसरायली सेनाले गाजाको उत्तरदेखि दक्षिणसम्मका आवासीय भवनहरू र अस्थायी शिविरहरूमा आक्रमण गरेको छ। प्रत्यक्षदर्शीहरूले मंगलबार राति इसरायली विमानहरूले गाजा सहरमा मिसाइल प्रहार गरेको बताएका छन्।
“त्यो नर्कको रात थियो। युद्धको पहिलो दिन जस्तै महसुस भयो,” गाजाकी ६५ वर्षीया रबिहा जमालले रोयटर्ससँग बताइन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेपछि आक्रमणको आदेश दिएको बताएका छन्। उनले गाजाका नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै, इजरायलले हमासविरुद्ध अझै सशक्त रूपमा आक्रमण गर्ने चेतावनी दिए।
“अब युद्धविराम र शान्ति वार्ता सामान्य अवस्थामा होइन, आक्रमणकै बीच हुनेछ,” नेतन्याहूले भने। उनले हमासले इजरायली प्रहारको महसुस गरिसकेको दाबी गर्दै, “यो त केबल सुरूवात मात्रै हो,” भनेका छन्।
इजरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम हुनेगरी सम्झौता भएको थियो। पहिलो चरणको युद्धविराम ४२ दिन चलेपछि दोस्रो चरणका लागि सहमति जुटाउन मध्यस्थकर्ताहरू असफल भए।
इजरायलले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको थियो, तर हमासले दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग गर्दै उक्त प्रस्ताव अस्वीकार गर्यो। त्यसपछि इजरायलले गाजामा साना आक्रमणहरू गर्दै आएको थियो।
इजरायलले गाजामा मानवीय सहायता बोकेर जाने ट्रकहरूलाई सीमामै रोकिदिएको थियो। मंगलबारको भीषण आक्रमणपछि गाजामा पुनः युद्ध सुरु भएको आकलन गरिएको छ।
रोयटर्सका अनुसार २०२३ को अक्टोबरमा हमासले अपहरण गरी गाजा लगेका २४९ बन्धकमध्ये अझै ५९ जना हमासकै नियन्त्रणमा छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा इजरायली आक्रमणबाट आफू आक्रोशित भएको बताएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलामा हालसम्म कम्तीमा ४८,५७७ प्यालेस्टिनीहरू मारिएका छन्। गाजाको सरकारी मिडिया कार्यालयले भने मृतक संख्या ६१,७०० भन्दा बढी पुगेको दाबी गरेको छ। भग्नावशेषमुनि हराइरहेका हजारौं मानिसहरू मरेको अनुमान गरिएको छ।