चितवन।
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द देखिएपछि कार्यालयमा तोडफोड भएको छ।
मंगलबार बिहान करिब १० बजे ३५/४० जनाको समूह आएर कार्यालय प्रमुख रामु श्रेष्ठको कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै उनलाई कुटपिट गरेको प्राधिकरणले आरोप लगाएको छ।
एमाले निकट युवा संघ र अनेरास्ववियु आवद्ध व्यक्तिहरूले तोडफोड गरेको बताइएको छ। घटनापछि कर्मचारीहरू सुरक्षित नरहेको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेको छ।
सोमबार भरतपुर वितरण केन्द्रको डिजिटल सूचना बोर्ड ह्याक गरेर प्रधानमन्त्रीविरुद्ध अपशब्द अपलोड गरिएको प्राधिकरणले जनाएको छ।
‘यस्तो गैरकानूनी कार्यप्रति नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
प्राधिकरणले उक्त घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जो कोहीलाई साइबर क्राइमसम्बन्धी कानूनअनुसार हदैसम्मको सजाय गर्न माग गरेको छ।