काभ्रेपलाञ्चोक ।
महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत यो तालिम आयोजना गरिएको हो।
बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्य राख्दै महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका, र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिकामा कफी उत्पादनका लागि सम्भावनायुक्त क्षेत्रहरूको पहिचान गरेका छन्। उनले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने योजना पनि राखेका छन्।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएका छन्। उनले बाटो र बिजुली जस्ता पूर्वाधारको निर्माणलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको बताए।
कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिएको छ। उनले ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको र कफी प्रशोधनमा प्रविधि भित्र्याउनका लागि प्रदेश सरकार, गाउँपालिका र किसानको साझेदारीमा ५० लाख रुपियाँको लागत लगानी गर्ने बताएका छन्।
महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि कफी उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। त्रिदिवसीय तालिममा ९० जना किसान सहभागी थिए।