काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र मार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु रोगको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेका छन्।
कार्यकारी निर्देशक रवि मल्लका अनुसार, अब आन्तरिक र अन्य श्रोतबाट बालबालिकाको उपचार गरिनेछ।
स्वास्थ्य मन्त्रालयले केन्द्रलाई प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिन्छ र ४८० बालबालिकाले यस वर्षसम्म शल्यक्रिया सहित उपचार निःशुल्क पाएका छन्।
मन्त्री पौडेलका अनुसार, स्थानीय तहहरूसँगको सहकार्यमा बाल मुटु उपचारलाई थप प्रभावकारी बनाउने योजना बनाइएको छ।
नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जना मुटुसम्बन्धी समस्याबाट ग्रस्त हुने अध्ययनले देखाएको छ।