काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर गर्न पुगेपछि उत्पन्न तनावकाबीच हाल उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बैठक सुरु भएको छ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोकिएपछि महानगरका कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए।
बिहीबार हाजिर हुन पुगेका उनलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो।
तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै कार्यकक्षसम्म पुर्याएका थिए। गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा पठाइएको थियो।
त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त भएका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि हाल महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ।
यस्तो परिस्थितिमा तलबसमेत नपाएको भन्दै महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन्।
उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने अडान लिएका छन्।