काठमाडौं ।
शिक्षा विधेयकमा आफूहरूले अघि सारेका माग सम्बोधन गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका शिक्षकहरूको विषयमा सरकारले ठोस पहल अघि बढाउने बताएको छ।
शिक्षकहरूले शिक्षा विधेयकलाई शीघ्र ऐनका रूपमा जारी गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्। सोही विषयमा बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायत उच्च सरकारी अधिकारीहरूबीच छलफल भएको थियो।
उक्त छलफलपछि कार्यबाहक प्रधानमन्त्री सिंहले शिक्षा विधेयक अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। गृहमन्त्री लेखकले सरकार शिक्षकहरूले उठाएका मागहरूलाई अत्यन्तै गम्भीर रूपमा लिएको उल्लेख गर्दै चाँडै ठोस निर्णयमा पुग्ने आश्वासन दिएका छन्।
सरकारले शिक्षकहरूको माग कहिले र कसरी सम्बोधन गर्ने भन्ने विषयमा भने थप स्पष्ट निर्णय गर्न बाँकी रहेको छ। तर, छलफलमा सहभागी मन्त्रीहरूले सरकार शीघ्र आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्।