मुस्ताङ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा यो आर्थिक वर्षको नौ महिना नपुग्दै तीन लाख ९६ हजार ९०१ जना आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि चैत १८ गतेसम्म तीन लाख ३३ हजार ८४५ जना नेपाली र ६३ हजार ५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।
प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार आन्तरिकतर्फ दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला पर्यटकले भ्रमण गरेका छन्। यस्तै, विदेशी पर्यटकमध्ये ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला रहेका छन्।
यस वर्षको तीन महिना बाँकी नै रहँदा साउनदेखि चैत १८ गतेसम्मको महिनावार तथ्याङ्क अनुसार साउनमा १०,९८३, भदौमा १७,४९२, असोजमा ४७,२९३, कात्तिकमा ९९,१७६, मङ्सिरमा ५८,४४३, पुसमा २८,७२२, माघमा २४,८०२, फागुनमा ४६,९३४ र चैत १८ गतेसम्ममा ४४,८०६ जना आन्तरिक पर्यटक आएका थिए।
विदेशी पर्यटकको हकमा साउनमा ३,०५४, भदौमा ६,३४७, असोजमा १२,५३८, कात्तिकमा १४,१२४, मङ्सिरमा ७,४६४, पुसमा ६,८३५, माघमा ३,४५६, फागुनमा ९,२३८ र चैत १८ गतेसम्ममा १३,४०५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार यो अवधिमा आन्तरिक पर्यटकको हिस्सा ८१ प्रतिशत र विदेशी १९ प्रतिशत रहेको छ। विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीय र बाँकी अन्य देशका रहेका छन्।
अघिल्लो वर्ष २०८०/८१ मा कुल चार लाख ५४ हजार ३२६ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए, जसमा तीन लाख ५४ हजार ९२७ आन्तरिक र ९९ हजार ३९९ विदेशी थिए।
सडक सञ्जालको सुधारसँगै पर्यटक संख्या बढ्दै गएको छ। मुक्तिनाथधाम, कागबेनी श्राद्धस्थल, कोरलानाका, मुस्ताङी सांस्कृतिक राजाको दरबार, पद्यसम्भवसँग जोडिएका गुम्बा, माने, मठमन्दिर, पुरातात्विक सम्पदा र गुफाहरू यहाँका प्रमुख आकर्षण हुन्।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार राष्ट्रिय गौरवको कोरला सडक सहज बन्दै जाँदा आन्तरिक पर्यटक कोरलानाकासम्म पुग्न थालेका छन्। दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार मुस्ताङको धार्मिक, सांस्कृतिक सम्पदा र मौलिक जीवनशैलीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ।