काठमाडौँ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको पक्षमा चलिरहेको आन्दोलनलाई सुधार गर्दै अब नयाँ ढंगमा अघि बढाइने बताएका छन्।
काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले अघिल्ला गतिविधिहरूमा कमजोरी भएको स्वीकार गर्दै ती सुधार गर्दै आन्दोलनलाई थप प्रभावकारी बनाइने बताए। अध्यक्ष थापाले आन्दोलन निष्क्रिय भएको भन्ने भ्रममा नपर्नसमेत आग्रह गरे।
थापाले संयुक्त जनआन्दोलन परिचालन समिति अझै सशक्त र एकताबद्ध रहेको उल्लेख गर्दै भविष्यमा यसले निर्णायक भूमिका खेल्ने दाबी गरे। केही समूहहरू अलगिएको भन्ने भ्रम चिर्दै उनले समिति विभाजित नभएको स्पष्ट पारे।
उनले राजसंस्था पुनर्स्थापनाको मुद्दा निरङ्कुश शासनतर्फ फर्किन खोजिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको पनि प्रस्ट पारे। उनका अनुसार, राप्रपा नेपालको आन्दोलन प्रजातान्त्रिक मूल्य र मान्यताभित्रै सीमित रहनेछ।