काठमाडौँ ।
मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित हुम्डे स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयअन्तर्गतको मुक्तिनाथ फिल्ड अस्पताल र स्थानीय पालिकाको सहकार्यमा गरिएको यस शिविरमा स्वास्थ्यकर्मीहरूले करिब पाँच दर्जनभन्दा बढी स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका हुन्।
शिविरमा सहभागी चिकित्सकहरूले स्थानीय समुदायमा देखिने सामान्य स्वास्थ्य समस्या, रक्तचाप, मधुमेह, श्वासप्रश्वासलगायत विविध प्रकृतिका स्वास्थ्य परीक्षण उपलब्ध गराएका थिए।
यसबाहेक पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूको समेत स्वास्थ्य जाँच गरिएको अस्पतालले जानकारी दिएको छ। स्थानीयले दुर्गम क्षेत्रमै विशेषज्ञ सेवा पाउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।