काठमाडौँ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई थप स्पष्ट निर्देशन दिएको छ। आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने विशेष आचरण प्रभावकारी रूपमा कार्यान्वयन गराउन आयोगले देशभर सूक्ष्म अनुगमन गर्न भनेको हो।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित अनुगमन अधिकृत तोकिएको छ। आयोगले आचारसंहिता पूर्ण रूपमा पालना भए/नभएकोबारे नियमित निगरानी गर्न निर्देशन दिएको जनाएको छ।
निर्वाचन आचारसंहिता, २०८२को दफा १७ अनुसार मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण लागू हुने व्यवस्था छ। यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, प्रभाव पार्ने गतिविधि वा निषेधित कार्य गर्न नहुने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।
त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि आयोगले स्पष्ट पारेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी उल्लङ्घनका घटनामा कडाइका साथ कार्यान्वयन गर्न आयोगले निर्देशन दिएको छ।
आयोगले प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र आचारसंहिताले निषेध गरेका कार्य नगर्न तथा नगराउन सबै पक्षसँग आग्रह गरेको छ।