काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टीले प्राप्त गरेको कमजोर नतिजाबारे सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले एमाले हाल ‘मरेको नभई ढलेको’ अवस्था मात्रमा रहेको स्पष्ट पारेका छन्।
भट्टराईले लामो स्ट्याटसमा भनेका छन् कि पार्टीको कमजोरीमा नीति मात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरूको पनि सहभागिता रहेको छ। उनले नेतृत्वलाई प्रश्न गर्दै लेखेका छन्, “सफलता वा असफलतापछि जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ?” साथै उनले पूर्वाग्रह, भावना र षड्यन्त्रबाट माथि उठेर पार्टीभित्र गम्भीर छलफल आवश्यक रहेको बताएका छन्।
उपमहासचिव भट्टराईले सात बुँदामा स्पष्ट पारेका छन्, “कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत हामी फेरि उठ्नेछौँ र पार्टी, जनता तथा राष्ट्रको स्वाभिमान पुनः स्थापित गर्नेछौँ।”
भट्टराईले संयम र धैर्यताका साथ पार्टी एकता जोगाउन, सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटोमा अघि बढ्न एमालेका सदस्यहरूलाई अपिल गरेका छन्।









