कानुनका छिद्रबाट गरेको निर्णयले अनन्तकालसम्म लखेट्छ : थापा
कानुनका छिद्रबाट गरेको निर्णयले अनन्तकालसम्म लखेट्छ : थापा
    • बेल संचार

    • २३ आश्विन २०७८, शनिबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा गठबन्न सरकारले प्रधानन्यायाधीशनिकट गैह्रसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै थापाले शनिबार ट्वीटमार्फत यस्तो बताएका हुन्।

उनले प्रश्न गरेका छन्,‘कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्ने बताएका छन्। इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो भन्ने प्रश्न गर्दै थापाले निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने उल्लेख गरे।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाल नियुक्त गरेका थिए। हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ।

मन्त्रिपरिषद् विस्तारको तयारी हुँदा सरकारसँग प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि नाम जोडियो। जबराले वन र उद्योग मन्त्रालय मागेका थिए। यो विषयलाई लिएर बारले आपत्तिसमेत जनाएको थियो।

शुक्रबार उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल बने। हमाल प्रधानन्यायाधीश जबरा निकट मानिन्छन्। जबराले भने हमाल पुराना देउवा निकट नेता भएकाले मन्त्री बन्न सक्ने यसअघि नै प्रतिक्रिया दिएका थिए। सर्वोच्चमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले कम्फरटेबल बनाउन हमाल मन्त्री बनेका हुन्।

साताकाे चर्चित
सम्बन्धित