जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय राजनीतिमा अपराधिकरण बढ्दै गएको बताएका छन् ।
जनता समाजवादी पार्टी धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् । ‘चुनाव महंगो हुँदै गएको छ । अब गरिब, विपन्न तथा पछाडि परेकाहरूको लागि चुनाव रहेनु’, अध्यक्ष यादवले भने, ‘भ्रष्ट्राचार गरे पसै कमाएको छ अब उनीहरूकै लागि चुनाव हुनेछ । सर्वसाधारणले त चुनावको बोझ नै उठाउन सक्ने अवस्था छैन ।’
अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था नरहेको उनले बताए । स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।स्थानीय तहमा निर्दलीय निर्वाचन भएको खण्डमा स्वच्छ र इमान्दार व्यक्ति नेतृत्वमा पुग्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेश सरकार मन्त्री तथा स्थानीय तहका मेयर उपमेयरलाई जनताको हितमा काम गर्न निर्देशनसमेत दिएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले दशैँ, दीपावली तथा छठको शुभकामना दिँदै उनले प्रदेशलाई सम्वृद्धिको बाटोमा अगाडी बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साह लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध खनिएका थिए । उनले निर्वाचन अघि सिके राउतले मदेसलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका थिए ।