राजनीतिले भन्दा संगीतले मानिसलाई जागरण ल्याउँछ: अध्यक्ष ओली
राजनीतिले भन्दा संगीतले मानिसलाई जागरण ल्याउँछ: अध्यक्ष ओली
    • बेल संचार

    • १३ कार्तिक २०७८, शनिबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलेभन्दा संगीतले मानिसलाई जागरण बढाउन सजिलो हुने बताएका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शार्दुल अंक–४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक कुराले भन्दा संगीतले समाज र मानिसलाई बदल्न सजिलो हुने बताए ।

“संगीतमा समाज र मानिसलाई बदल्ने शक्ति रहेको छ”, उनले भने, “गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सक्दछौँ ।” जीवन र मानिसका लागि समस्यालाई छुने गीत गाउनुपर्ने उनको भनाइ थियो । “ऐना र तस्वीर मात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ”, उनले भने, “जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ ।”

एमाले अध्यक्ष ओलीले देशभक्ति गीत एमालेको मात्र नभएर सबै नेपालीको रहेको बताए । उनले विकासका गीत गाउँदा समाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको भाव झल्किने खालका जागरणका गीत हुनुपर्ने बताए । ओलीले जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
“अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ”, उनले भने, “मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ ।

” उनले पूर्वजले छन्द, कलाकारिताका रङ, संगीतको सुर, ताल पत्ता लगाएकाले आजको समयमा साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्न सकेको बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको बताए । उनले गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले गीत गाएको जानकारी दिए । गीतकार श्याम टमोटले २०० गीतबाट १० वटा गीति एल्बममा समावेश गरिएको जानकारी दिए । कार्यक्रममा गीतका स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित