मदिरा पिएर हतियारसहित होहल्ला गर्दै हिँडेका नेपाली सेनाका मेजर पक्राउ
मदिरा पिएर हतियारसहित होहल्ला गर्दै हिँडेका नेपाली सेनाका मेजर पक्राउ
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयले गएराति मदिरा सेवन गरेर होहल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर शाहीलाई हतियार सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार उनी मदिराको नशामा लठ्ठिएर स्थानीयलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनी रातिको समयमा स्थानीय संगम होटलमा छिरेका थिए। उनले होटल सञ्चालक हर्क रावललाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए। होटल सञ्चालक रावलले मेजर शाही मदिराले लठ्ठिएर आफ्नो होटल भित्र छिरेको बताए।

‘उनी मदिराले लठ्ठ थिए। होटलमा छिर्ने बित्तिकै मसँग अभद्र व्यवहार गरे। हामी चारजना थियौं’, उनले भने, ‘साथीहरुले बाहिर पठाए। त्यसपछि उनी हतियार सहित सडकमा होहल्ला गर्दै हिँडेछन्।’

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एकजना डयुटीमा रहेका सैनिकलाई लिएर फेरी करिव ४ किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेका थिए। उनी बजार पुग्ने बित्तिकै सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेका थिए। स्थानीयका अनुसार सो क्रममा उनले केही व्यक्तिलाई हातपात समेत गरेका थिए।

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहौल त्रसित बनेको थियो। त्यसपछि उनलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका थिए। स्थानीयले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा गरेका छन्।

उनीहरुले मेजर शाहीलाई कारवाहीको माग गरेका छन्। प्रहरीको नियन्त्रणमा रहेका मेजर शाहीले मदिराको नशाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन्। उनलाई लिन पृतनाको टोली प्रहरी कार्यालय पुगेको छ।

साताकाे चर्चित
सम्बन्धित