दश वर्षे सशस्त्र युद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण शुरु (फोटो सहित)
दश वर्षे सशस्त्र युद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण शुरु (फोटो सहित)
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

दश वर्षे सशस्त्र युद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण शुरु भएको छ । पार्क निर्माणका लागि ठेकेदार कम्पनी ओम सत्य साई कन्ट्रक्सन चितवनसँग गत भदौ २० गते ठेक्का सम्झौता भएको गाऊँपालिकाका इन्जिनियर अभिनव गौतमले बताउनुभयो ।

आगामी फागुन १५ गतेसम्ममा पार्क निर्माण सक्ने गरि ३ करोड ३७ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

केही वर्ष पहिलेनै पार्क निर्माणको प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन हुन सकेको थिएन । गाऊँपालिका र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागत साझेदारीमा पार्क निर्माण हुने भएको हो ।

मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत पार्क निर्माणका लागि साढे ३ करोड र पालिकाले डेढ करोड रुपैयाँ छुट्याएका थिए । निर्माण ब्यवसायीले ३ करोड ३७ लाख २५ हजार लागतमा पार्क निर्माण गर्नेछन् ।

वारपाक सुलिकोट गाऊँपालिका वडा नम्वर ८ को जराङमा बन्ने पार्कमा करीव ८० जना अट्ने सभाहल सहितका संरचना निर्माण हुने इन्जिनियर गौतमले बताउनुभयो । यस्तै करिडोरमा घुम्दै अवलोकन गर्न सकिने गरि संग्रहालय बनाइने छ ।

जनयुद्धमा तयार भएका दस्तावेज, तस्विर लगायतका सामग्री संग्रहालयमा राखिने उहाँले जानकारी दिनुभयो । पार्क परिसरमा भने रम्तेलको शालिक सहित वगैंचा निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

पन्द्रुङस्थित ब्रम्हचारिणी निम्न माध्यमिक विद्यालयमा ४ कक्षामा पढ्ने रम्तेलको प्रहरीले चलाएको गोली लागेर २०५२ साल फागुन १४ गते मृत्यु भएको थियो । उनैको सम्मान र सम्झनामा पार्क निर्माण गर्न लागिएको वारपाक सुलिकोट गाऊँपालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित