बाजुरामा दुई करोड बढीकाे अन्नबालीमा क्षति
बाजुरामा दुई करोड बढीकाे अन्नबालीमा क्षति
    • बेल संचार

    • २४ कार्तिक २०७८, बुधबार

गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार रू दुई करोड ७१ लाख २५ हजार ५५० बरावरको बालीमा क्षति भएको हो । केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए । उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भएको हो । त्यसैगरी कोदो १३६ हेक्टरमा लगाएको २२४ मेट्रिक टन क्षति भएको छ र यसको मूल्य रु ५७ लाख ६ हजार ७५० बराबरको भएको जनाइएको छ । अनुमानित तथ्याङ्क सङ्कलन गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइएको सूचना अधिकारी जोशीले बताए । सधैँजसो खाद्य संकट भोग्नुपर्ने जिल्लाले यस वर्ष थप चुनौती व्यहोर्नुपर्ने जनाइएको छ ।

खाद्य डिपोमा चामल सकियो

जिल्लाका मार्तडीमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल अभाव भएको छ । जिल्ला भरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि चामल लिन पुगेका सेवा ग्राही रित्तो हात फर्किने गरेका छन् ।

खाद्य डिपोमा चामल यही कात्तिक १७ गतेसम्म वितरण भएको र यसपछि वितरण गर्न नसकेको लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताए । डिपोमा चामल सकिएको जनाउँदै आकस्मिकबाहेक बिक्रीमा रोक लगाएको डिपो प्रमुख ओझाको भनाइ छ ।

 

साताकाे चर्चित
सम्बन्धित