अष्ट्रेलियाका ओपनर डेविड वार्नर आइसिसी टि२० विश्वकप २०२१ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आइतबार भएको फाइनलमा अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको थियो ।
अष्ट्रेलियालाई उपाधि जिताउन वार्नरले ७ खेलमा ३ अर्धशतक सहित २ सय ८९ रन बनाएका थिए । १४६.७० को स्ट्राइक रेटमा वार्नरले ३२ चौका र १० छक्का प्रहार थिए । औसत ४८.१६ थियो । वार्नरले प्रतियोगिताभर कुल १ सय ९७ बल खेलेका थिए । फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भएका थिए ।
वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्का सहित ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समूह चरणमा वेस्टइन्डिज विरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए । दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए ।
वार्नरपछि पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम सर्वोत्कृष्ट खेलाडीको दाबेदार थिए । बाबरले ६ खेलमा ४ मा अर्धशतक सहित कुल ३ सय ३ रन बनाएका छन् । औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ कोछ । प्रतियोगिताभर कुल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए । पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
आइतबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो ।