माओवादी केन्द्रले तोक्यो उम्मेदवारी दर्ता शुल्क : कुन पदका लागि कति ?
माओवादी केन्द्रले तोक्यो उम्मेदवारी दर्ता शुल्क : कुन पदका लागि कति ?
    • बेल संचार

    • ३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विभिन्न तहका पदका लागि उम्मेदवारी दर्ता शुल्क तोकेको छ । वडा सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादी केन्द्रले वडादेखि केन्द्रीय पदाधिकारीसम्मका लागि उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

हालै बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले वडादेखि प्रदेश पदाधिकारीसम्मका लागि मात्र उम्मेदवारी दर्ता शुल्क तोकिएको आयोगका केन्द्रीय सदस्य तथा वाग्मती इन्चार्ज गोविन्दबहादुर बटाला ‘जीवित’ले जानकारी दिनुभयो । उहाँका अनुुसार वडा कमिटी सदस्यका लागि ५० रुपैयाँ, पदाधिकारीका लागि एक सय रुपैयाँ, पालिका कमिटी (गाउँ, नगर, महानगर) सदस्यका लागि तीन सय र पदाधिकारीका लागि पाँच सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । त्यस्तै प्रदेश कमिटी सदस्यका लागि पाँच सय र पदाधिकारीका लागि एक हजार शुल्क तोकिएको छ ।

केन्द्रको लागि भने अर्को बैठकले उम्मेदवारी दर्ता शुल्क तोकिने नेता बटालाले बताउनुभयो । माओवादी केन्द्रले मंसिर ४ गते वडा सम्मेलन, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलनको मिति तोकेको छ । पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा गर्ने माओवादी केन्द्रको तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित