स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
    • बेल संचार

    • २ मंसिर २०७८, बिहीबार

गुल्मी । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमामा पछिल्लो समय गुल्मीका नागरिकको समेत आकर्षण देखिएको छ । जिल्लामा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्र विष्टले बताए ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने लक्ष्यसहित २०७६ माघ २१ गतेदेखि गुल्मीमा यो कार्यक्रम शुरू गरिएको थियो । गत असोज मसान्तसम्ममा जिल्लामा ७२ हजार ६०५ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा पाँच जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँमा वार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउँछ । परिवारका सदस्य बढी भएमा प्रतिव्यक्ति ७०० रुपैयाँ तिरेर प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन सकिन्छ । स्वास्थ्य बीमा गराउनेमा गुल्मीको रेसुंगा नगरपालिकामा नागरिक सबैभन्दा धेरै र मदाने गाउँपालिकाका सबैभन्दा कम छन् ।

रेसुंगा नगरपालिकामा १२ हजार ५७५ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यस्तै मुसीकोट नगरपालिकामा ३ हजार ९३१, कालगण्डकी गाउँपालिकामा ४ हजार ४४३, मालिकामा ४ हजार ३७९, सत्यवतीमा १० हजार ३११ जना, रुरु क्षेत्रमा ७ हजार ५९०, छत्रकोटमा ५ हजार ९३२, धुर्कोटमा ४ हजार ९२, गुल्मी दरबारमा ४ हजार ७५४ जना, इस्मामा २ हजार ८२३, चन्द्रकोटमा २ हजार १७६ र मदाने गाउँपालिकामा १ हजार ६३ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डका प्रमुख विष्टले जानकारी दिए ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले स्वास्थ्य बीमा कार्यक्रम शुरू भएपछि अस्पतालमा उपचार गराउनेको संख्या दोब्बर भएको बताए । विगतमा सरदर दैनिक १०० बिरामी आउने गरेकोमा यस कार्यक्रम सञ्चालन भएपछि दैनिक २०० सयदेखि २५० जनासम्म सेवाग्राही आउने गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित