जापान कोभिड–१९ को महामारीका कारण सीमामा प्रवेशमा लगाइएको प्रतिबन्ध थप खुकुलो बनाउने क्रममा रहेको छ । हाल दैनिक रुपमा ३ हजार ५ सय आगन्तुकलाई प्रवेशको अनुमति दिइएकोमा अब ५ हजार जनासम्मलाई प्रवेश गर्ने अनुमति दिइने बुधबार सरकारी स्रोतहरुले बताएको भन्दै क्योदो न्यूजले समाचार छापेको हो ।
यो वृद्धि नोभेम्बर २६ देखि लागू हुनेछ । हालैका दिनमा देशभरमा दैनिक संक्रमण न्यून स्तरमा झरेसँगै विमानस्थलहरुमा स्क्रिनिङ बढाएर आगन्तुकको संख्या बढाउन खोजिएको हो । यही महीनाको शुरुमा सरकारले व्यवसायी, विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरुको लागि प्रवेश प्रतिबन्ध खुुकुलो बनाएको थियो ।
कोभिडसम्बन्धी खोपको पूरा मात्रा लगाएका प्रमाण भएका तीन महीनासम्म बस्न भनेर आएका व्यवसायिक यात्रीहरुको लागि क्वारन्टिन अवधि १० दिनबाट घटाएर ३ दिनमा ल्याइएको थियो । सरकारले पयर्टकहरुको प्रवेशमाथि भने निरन्तर रोक लगाइरहेको छ । यद्यपि, गतिविधिहरुलाई कसरी नियन्त्रित र निगरानी गर्न सकिन्छ भन्नेबारे विचार गरेर सरकारले टूर ग्रुपहरुलाई भने प्रवेशको अनुमति दिने अधिकारीहरुले बताएका छन् ।