एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान
एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान
    • बेल संचार

    • २ मंसिर २०७८, बिहीबार

काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा रु सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गरेका हुन ।

 

महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ । सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ ।

थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनीत हुनेछन् ।

“यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौँ”, रिमालले भनेका छन।

उनका अनुसार गत आठौँ महाधिवेशनमा करिब रु दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा रु चार करोड २५ लाख खर्च भएको थियो । गत असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा छ हजार चार सय ३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब रु पाँच करोड खर्च भएको थियो ।

यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग सात करोड ५० लाख होला भन्ने आँकलन गरिएको नेता रिमालले बताए ।

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ । एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ ।

एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार ४५३ छ । नेता रिमालले भने, “यसरी सदस्यबाट न्यूनतम् रकम लिएर महाधिवेशन गर्ने यो नेपालमा रहेका पार्टीका लागिसमेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौँ ।

यसले पारदर्शितालाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौँ । हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौँ, रसिद छापेका छैनौँ । यो प्रयोग हामीले नयाँ गरिरहेका छौँ ।”

साताकाे चर्चित
सम्बन्धित