लाइसेन्सबिना गाडी चलाउने टोकियो विधान सभा सदस्यले दिइन् राजिनामा
लाइसेन्सबिना गाडी चलाउने टोकियो विधान सभा सदस्यले दिइन् राजिनामा
    • बेल संचार

    • ८ मंसिर २०७८, बुधबार

टोकियो महानगर विधान सभाकी एक सदस्यले सोमबार राजिनामा दिएकी छिन् । आफूले बारम्बार लाइसेन्स बिना गाडी चलाएको अभियोग स्वीकार गर्दै ५५ वर्षिय फुमिओ किनोशिताले आफ्नो औपचारिक राजिनामा महानगर विधान सभाका अध्यक्ष समक्ष बुझाएकी हुन् । आफूले गाडी चलाएर सडक सवारी ऐनको उल्लंघन गरेको उनले बताएकी छिन् । किनोशिताले राजिनामा दिनु पर्ने भन्दै उनको समकक्षीहरुले सर्वसम्मत रुपमा बारम्बार अनुरोध गरेका थिए ।

 

उनको राजिनामा विधान सभाध्यक्षले स्वीकार गरिसकेका छन् ।
टोकियो गभर्नर युरिको कोइकेसँगको परामर्शमा आफूलाई राजिनामा दिन अनुरोध गरिएको किनोशिताले पत्रकार सम्मेलनमा भनेकी थिइन् । यो मामिला प्रकाशमा आएपछि किनोशिता स्वास्थ्य अवस्था राम्रो नभएको भन्दै विधानसभा र समितिहरुको बैठकमा अनुपस्थित भएकी थिइन् । नोभेम्बर ९ मा उनी चार महिनामा पहिलो पटक सार्वजनिक स्थलमा देखा परिन् । त्यति बेला उनले आफ्नो राजनीतिक गतिविधिहरुलाई निरन्तरता दिन चाहेको पत्रकारहरुसमक्ष बताएकी थिइन् ।त्यसयता टोकियो महानगर विधान सभाले दुई पटक सर्वसम्मतिले उनलाई राजिनामा गर्न सुझाव दिने पक्षमा मत दिएको थियो । उनको विरोध गर्दै विधानसभाका अन्य सदस्यहरुले किनोशिता संलग्न समितिहरुको बैठकमा सहभागी भएनन् । आफ्नो चालक अनुमति अवैधानिक भएको समयमा सवारी साधन चलाउनु नहुने भन्दै उनले पत्रकार सम्मेलनमा माफी मागेकी थिइन् ।

टोकियो महानगर विधान सभाले आफूलाई राजिनामा दिन सिफारिस गर्ने निर्णय कानूनी रुपमा बाध्यकारी नभएको उनले बताएकी थिइन् ।विधान सभाको सदस्यको रुपमा काम गर्ने आफ्नो इच्छा भएपनि आफूले त्यस्तो गर्न नसक्ने अव्यवहारिक वास्तविकताको सामना गर्नु परेको भन्दै उनले दुःखेसो पनि पोखिन् । पत्रकार सम्मेलनमा उपस्थित उनको वकिलले विधान सभाको आलोचना गरेका छन् । यसलाई उनले विद्यालय र कार्यस्थलमा देखिने बुलिङसँग दाँजेका छन् । टोकियो गभर्नरको सुझावलाई मनन गरेर अनि आफ्ना समर्थकहरुसँग कुराकानी गरेपछि किनोशिता राजिनामा दिने निस्कर्षमा पुगेकी थिइन् ।

 

साताकाे चर्चित
सम्बन्धित