टेलिकमलाई निर्देशन- ‘९७४ बाट सुरु हुने नम्बरको बिक्री रोक्नुस्’
टेलिकमलाई निर्देशन- ‘९७४ बाट सुरु हुने नम्बरको बिक्री रोक्नुस्’
    • बेल संचार

    • ९ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल टेलिकमलाई अनुमतिविना ९७४ मा आधारित फोन नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।

त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

सञ्चालक समितिले टेलिकमले स्वीकृतविना नम्बर वितरण गरेकाले एक पटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।

यस्तै, सञ्चालक समितिले टेलिकमलाई पुनः नम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो ।

नम्बर प्रयोगकर्तालाई वितरण भएपश्चात् उक्त नम्बर दीर्घकालीन रूपमा प्रयोग हुने भएकाले अस्थायी रूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायी रूपमा प्रदान हुनेछ ।

सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । नेपालमा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन् ।.

साताकाे चर्चित
सम्बन्धित