घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी
घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी

जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ ।

    • बेल संचार

    • ९ मंसिर २०७८, बिहीबार

खलङ्गा

जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन ।

यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । स्थानीयवासीले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर गाउँपालिकाको व्यापारी केन्द्र रारासेरी बजारमा बिक्रीका लागि लैजाने गर्छन् । विकट ठाउँ भएपनि अहिले घरघरमा खानेपानीका धारा पुगेको स्थानीयवासी गोरीकला रावतले बताउनुभयो ।

प्रत्येक घरधुरीमा धारा जडान भएपछि खानेपानीको सुविधा पुगेको स्थानीयवासी बताउँछन् । अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको पेस नेपाल जुम्लाका सव इञ्जिनीयर हर्कबहादुर रावतले बताउनुभयो ।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम क्याप्स कर्णाली परियोजनाअन्तर्गत खानेपानी धारा जडान गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । प्रत्येक घरधुरीका ‘क’ र ‘ख’ वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको सवइञ्जिनीयर रावतले बताउनुभयो । खानेपानी आयोजना निर्माण गरेबापत ‘क’ र ‘ख’ वर्गका प्रत्येक घरधुरीले रु ५७ हजार ६३२ प्राप्त गरेका छन् ।

आयोजनाबाट ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथै घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन् । आयोजना सम्पन्न गर्न रु ८४ लाख ८५ हजार ५१७ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित