ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्
ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्
    • बेल संचार

    • १० मंसिर २०७८, शुक्रबार

काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ ।

त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ ।

राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिएकै बेलामा लिन सकिन्छ ।

लामो समयका लागि वैदेशिक रोजगारीमा जाने हो भने राष्ट्रिय परिचयपत्र नै लिँदा राम्रो हुन्छ । तर तत्कालै गइहाल्ने हो भने नम्बर मात्र पाइने भएकाले समस्या हुँदैन ।

१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको राहदानी विभागले जनाएको छ । विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूको  लागि भने राष्ट्रिय परिचय पत्र नभए पनि हुन्छ ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको सक्कल प्रति र विवाहित व्यक्तिको हकमा भने विवाह दर्ताको प्रमाणपत्र पनि आवश्यक पर्छ ।

परिचयपत्र लिन दर्ताका लागि भने व्यक्ति आफैं जानुपर्छ ।

विद्युतीय राहदानीको  लागि  आवेदन दिने तरिका

राहदानी विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिची प्रि-इनराेलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।

आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ ।

मिति र समय बुक नगरी गएमा विभागले निवेदन लिँदैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरणमा कुनै गल्ती नगर्न विभागले अनुरोध गरेको छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनः बनाउँदा दस्तुर पुनः लाग्छ ।

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ । तर यो आँखाले सहजै देख्न सकिँदैन ।

चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू पनि हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् ।

ICAO PKD मार्फत सूचनाहरू रुजु हुने हुँदा विभिन्न देशका अध्यागमन कार्यालयहरूमा सहज र छिटो हुनेछ । विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

विभागका अनुसार यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुन्छ ।

साताकाे चर्चित
सम्बन्धित