काठमाडाैं । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो ।
बिस २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उहाँले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताउनुभयो । अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताउनुभयो ।
अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताउनु भयो । उहाँले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताउनुभयो ।
काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करिव ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।