कमल थापालाई टक्कर दिने राजेन्द्र लिङ्देन काे हुन् ?
कमल थापालाई टक्कर दिने राजेन्द्र लिङ्देन काे हुन् ?
    • बेल संचार

    • १८ मंसिर २०७८, शनिबार

०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बनेका छन् । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले ।

राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जमेकाे थियाे । संयोगले उनी आबद्ध भएको केही समयमै तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उक्त विद्यार्थी संगठन विघटन गरे, त्यसको कारण ‘मण्डले’ को नाममा संगठनले निकै बदनामी कमाएको थियो ।

पछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बनाइयाे, जसको संस्थापक अध्यक्ष थिए, लिङ्देन । राप्रपा केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीका अनुसार थापा र लिङ्देनको राजनीतिक पृष्ठभूमि एकै भएकाले उनीहरूबीचको सम्बन्ध लामो समयसम्म एकसाथ देखिन्छ ।

कमल थापा : राजनीतिमा चतुर, खेलमा कुशल

लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्व पाउनुअघि नै देशमा पञ्चायत ढलिसकेको थियो । पञ्चायतको राजनीतिको उत्तरार्द्धमा लिङ्देनले झापाको मेची क्याम्पस घटनाका कारण चर्चा कमाइसकेका थिए । ०४६ सालमा लिङ्देनको टोलीमाथि क्याम्पसका विद्यार्थी राम थापाको हत्या गरेको आरोप लागेको थियो । उक्त घटनाकाे चर्चा नसेलाउँदै राप्रपाले गठन गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भए ।

०४६ सालमा प्रजातन्त्र स्थापना भए पनि राप्रपाको बोलवाला भने चर्को नै थियो । अर्कातिर विद्यार्थी संगठनको अध्यक्ष नै भएका कारण पनि लिङ्देनको प्रभाव झापामा बढ्न थालेको थियो । त्यही कारण ०४९ सालको स्थानीय निर्वाचनमा झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भए । अर्को ०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए लिङ्देन ।

संयोगचाँहि, ०४९ सालमा विद्यार्थी संगठनको अध्यक्ष भए पनि लिङ्देन ०४७ मै झापामा राप्रपाको पार्टी सचिव भइसकेका थिए ।

लिङ्देन पार्टी सचिवकै हैसियतमा वडाध्यक्षमा निर्वाचित भएपछि झापामा प्रभाव विस्तार गरेका थिए । जसले गर्दा ०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भए । कमल थापाले नेतृत्व गरेको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका लिङ्देनलाई ०६६ सालमा थापाको नेतृत्वकै राप्रपा नेपालले केन्द्रीय सदस्य बनाएको हो । ०७० मा लिङ्देन राप्रपाको महामन्त्री भए ।

०६० सालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापतिसमेत भएका थिए । राप्रपाले ०५६ सालको आमनिर्वाचनमा लिङ्देनलाई झापा ३ बाट उम्मेदवार बनाएको थियो । स्थानीय निकायमा काम गरेको अनुभव र पार्टीमा झापाको जिल्ला कमिटीको पदाधिकारीसमेत भइसकेका कारण संसदीय निर्वाचनको टिकट लिनका लागि लिङ्देनलाई सजिलो पनि भयो ।

०५६ सालको निर्वाचनमा तेस्रो स्थानको मत ल्याएका थिए । त्यसपछि एकैचोटि ०७० को निर्वाचनमा भने दोस्रो स्थानमा आएका थिए । ०७० मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए । त्योभन्दा पहिला पनि सिटौलासँग नै पराजित भएका थिए । संयोगले ०७४ को निर्वाचनमा तिनै सिटौलालाई पराजित गरेर लिङ्देन पहिलोपटक संसद् छिरे ।

राप्रपाका एक नेताका अनुसार झापामा राप्रपाको बलियो उपस्थिति छ, जसलाई थेग्ने काम लिङ्देनले गरिरहेका छन्, लिङ्देनले राप्रपाको माहोल बिगारेका छैनन्, बरु सपारेका छन् । थापानिकट भएर अहिले लिङ्देन क्याम्पमा आएका ती नेता भन्छन् ‘थापाले मकवानपुरमा राप्रपालाई कमजोर बनाउँदा झापामा लिङ्देनले प्रभाव बढाएका छन्, त्यसैले अहिले नेतृत्वमा समर्थन गरेको हो ।’

०७४ को निर्वाचनमा लिङ्देनको विजयमा एमालेको पनि भूमिका छ । कांग्रेससँग राप्रपाले ०७४ को निर्वाचनमा तालमेल गर्ने निधो गरेको थियो । त्यसैअनुसार झापा ३ मा प्रत्यक्षतर्फ लिङ्देनलाई कांग्रेसले समर्थन गर्ने र सिटौलालाई समानुपातिकमा राख्ने कांग्रेस र राप्रपाबीच सहमति जुटेको थियो ।

उम्मेदवार दर्ता गर्ने अघिल्लो दिन सिटौलाले नमानेपछि राप्रपा एमालेसँग तालमेल गर्ने निर्णयमा पुग्यो । अनि, केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले समर्थन गर्ने र लिङ्देनको क्षेत्रमा एमालेले समर्थन गर्ने सहमति जुट्यो, जसले लिङ्देनलाई संसदसम्म ल्याउन भूमिका खेल्यो ।

साताकाे चर्चित
सम्बन्धित