एमाले दशौँ महाधिवेशन : कसलाई लाभ, कसलाई हानि ?
एमाले दशौँ महाधिवेशन : कसलाई लाभ, कसलाई हानि ?
    • बेल संचार

    • १९ मंसिर २०७८, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनमा नेताहरुको मूल्याकंनमा कुनै नियमितता छैन । अघिल्लो महाधिवेशनमा जितेका नेताहरु ओलीको रोजाईमा नपर्दा हारेका नेताहरुले भने बढुवा पाएका छन् ।

एमालेको दशौँ महाधिवेशन केही नेताहरुलाई फापेको छ । त्यसको सबैभन्दा बढी फाइदा पाउनेमा महासचिव शंकर पोखरेल छन् । नवौँ महाधिवेशनमा उपमहासचिवमा हारेका नेता शंकर पोखरेल दशौँ महाधिवेशनबाट भने एक तहको बढुवा पाउँदै महासचिव भएका छन् । नवौँ महाधिवेशनमा विष्णु पौडेल र घनश्याम भुषाल दुवैले आआफ्ना क्षेत्रका प्रतिनिधि मिलाएर सहमति गरेका कारण अरुहरु पाखा लागेको बताइने गरिएको छ । अहिले भने जबजका कुटिल व्याख्याता मानिने शंकर पोखरेललाई जबजका प्रणेता भण्डारी पन्ति विद्यादेवी भण्डारीको साथका कारण  पहिलो रोजाईमा परेको पनि सुनिन्छ ।

उता बढुवा पाउने अर्का नेता हुन विष्णु रिमाल । नवौँ महाधिवेसनमा सचिवमा पराजित रिमालले समेत एक तहको बढुवा पाएका छन् । ओलीले सत्ताको बागडोर चलाएको समयलाई युगिन मान्ने हो भने त्यसपछिको मुख्य आधार थिए उनै विष्णु रिमाल । ओलीले सरकार चलाउदाँँ विष्णु रिमाल प्रमुख राजनीतिक सल्लाहकार हुदाँको टिमको घेराबन्दी रहेको बताईने गरेको थियो ।

त्यस्तै, अर्का नेता रघुवीर महासेठले समेत लाभ पाएका छन् । नवौँ महाधिवेशनमा सचिव र केन्द्रीय सदस्य दुवैमा हारेका नेता महासेठले दशौँ महाधिवेशनमा भने सचिवमा निर्विरोध हुने मौका पाए । केही नेताहरुलाई भने महाधिवेशनमा सहमतिको अभ्यास निल्नु न ओकल्नुको अवस्था जस्तै रह्यो ।

उपमहासचिवमा दाबी राख्दै आएकी डा.विन्दा पाण्डे सहमतिको प्रयासपछि पदाधिकारीमा आफ्नो नाम नपर्दा समेत चुपचाप रहन बाध्य भइन् । उनले आपूm प्रतिनिधिको माँझ गए उचित मूल्याकंन हुने बताउँदै मौन बसिन् । उनी केन्द्रीय सदस्यमा मात्र सिमित हुदाँ पद्मा अर्याल भने पदाधिकारीमा समेटिएकी छिन् ।

नवौँ महाधिवेशनमा माधव नेपाल पक्षबाट पदाधिकारीमा उम्मेदवारी दिएर हारेका नेता लालबाबु पण्डितले संसद विघटनमा केपी ओलीलाई साथ दिँदै दशौँ महाधिवेशनमा पदाधिकारीको आकांक्षा राखेका थिए तर उनले पदाधिकारीमा स्थान नपाएपछि केन्द्रीय सदस्य समेत नबस्ने गरी फर्किए ।

उता नवौँ महाधिवेशन भन्दा महिला केन्द्रीय सदस्य संख्याको बढी सुनिश्चितता हुँदा, नवौँ महाधिवेशनमा ओली पक्षबाट नै केन्द्रीय सदस्य जितेका राधा ज्ञवाली, गोमा देवकोटा लगायतका नेताहरु ओलीको रोजाईमा पर्न सकेनन् ।

त्यस्तै, यसपटकको महाधिवेशनले लुम्बिनी प्रदेश समेत लाभमा छ । पूर्व माओवादीमा आएका नेताहरु समेत समेट्नुपर्दा लुम्बिनी प्रदेशले ७ वटा पदाधिकारी पाएको छ । शंकर पोखरेल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, युवराज ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी परेका छन् ।

त्यस्तै, केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका उपाध्यक्षमा समेत लुम्बिनी प्रदेश कै नेताहरुले जिम्मेवारी पाएका छन् । पूर्व माओवादीबाट आएका नेताहरु भने एमाले भित्र सम्मानजनका रुपमा स्थापित भएका छन् । माओवादी छोडेर एमालेमा आउदाँ २३ जना केन्द्रीय सदस्य पाएका पूर्व माओवादी नेताहरुले महाधिवेशनपछि ३ पदाधिकारीसहित ३३ जना केन्द्रीय सदस्य पाएका छन् ।

नरेश खरेल, घनश्याम खतिवडा, सुरेन्द्र मानन्धर, कृष्णप्रसाद जैशी, सहदेब बोगटी, दिपक भट्ट, योगेन्द्रबहादुर जोशी लगायतका नेताहरु भने ओलीको पहिलो रोजाईमा नपर्दा उम्मेदवारी दिएर अन्तिम समयमा फिर्ता लिएका थिए । जसलाई केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनमा पर्ने सम्भावनासँग जोडेर हेर्ने गरिएको छ । पहिलो पटक एमालेमा पदाधिकारीमा दलित र मधेस क्षेत्रले प्रतिनिधित्वको अवसर पाएको छ ।

साताकाे चर्चित
सम्बन्धित