माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदै, अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने
माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदै, अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने
    • बेल संचार

    • २५ मंसिर २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ।

सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुने सम्मेलनको अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।

माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार अध्यक्ष दाहालले दिउँसो १ बजे भर्चुअल माध्यमबाट सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।

ढकालका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुँदैछ।

विशेष र सम्पर्क समितिले भने अनुकूलमा सम्मेलन गर्ने भएका छन्। प्रवास समितिको सम्मेलन पनि आज  नहुने भएको छ।

सम्मेलनबाट माओवादी केन्द्रले नौ पदाधिकारीसहितको समिति चयन गर्नेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।

प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित