ट्रेजरी बिलले तरलता संकट झनै गहिर्‍याउँदै
ट्रेजरी बिलले तरलता संकट झनै गहिर्‍याउँदै
    • बेल संचार

    • २८ मंसिर २०७८, मंगलवार

तरलता संकट झन् झन् कसिँदै जाँदा नेपाल राष्ट्रबैंकले भने पटकपटक ट्रेजरी बिल (सरकारी ऋणपत्र) जारी गर्दै बजारबाट पैसा उठाएर सरकारका लागि खर्च जुटाइदिँदैछ । बजार तथा बैंकिङ प्रणालीमा भएको पैसा ट्रेजरी बिलमार्फत सरकारी खातामा लैजाँदा तरलता संकट झनै गहिरिन पुग्छ ।

राष्ट्र बैंकले ट्रेजरी बिल जारी गरेर बजारबाट पैसा तानी सरकारी खातामा जम्मा गरिदिए पनि सरकारले खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा असन्तुलन देखा परेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरु दबाबमा परेका छन् । उनीहरु यति बेला ऋण दिनै नसक्ने अवस्थामा छन् ।

केन्द्रीय बैंकले आज सोमबार पनि १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल पुस २७ गते परिपक्व हुनेछ।

यसैगरी ५ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल चैत १ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले १८२ दिनका लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । यो ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्व हुनेछ । बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ मंसिर २७ गते परिपक्व हुनेछ ।

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान भएको रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

साताकाे चर्चित
सम्बन्धित