आज अपरान्ह २ बजे संसदकाे हिउँदे अधिवेशन शुरू हुँदै, यस्ता छन् मूख्य कार्यसूची
आज अपरान्ह २ बजे संसदकाे हिउँदे अधिवेशन शुरू हुँदै, यस्ता छन् मूख्य कार्यसूची
    • बेल संचार

    • २८ मंसिर २०७८, मंगलवार

संघीय संसद्को आजबाट शुरु हुने हिउँदे अधिवेशनमा विधेयक प्रमुख एजेन्डा हुने भएको छ । यस अवधिमा दुईपटक प्रतिनिधिसभा विघटन हुुनुका साथै संसद् पुनःस्थापित भएपछि पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध कायमै राखेकाले संसद् सचिवालयमा रहेका ५५ वटा विधेयक अगाडि बढ्न सकेको छैन । संसद् सहज रूपमा सञ्चालन हुन नसक्दा सरकार विधेयकमार्फत अगाडि बढेको छ ।

आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेस हुने भएको छ । संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेस गर्ने उल्लेख गरेको छ । आज दिउँसो २ बजे बस्ने बैठकमा शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्ने कार्यक्रम रहेको छ । उहाँले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेस गर्नुहुनेछ ।

त्यसै गरी, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश–२०७८, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले बताएको छ ।

संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसद्को पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ । संसद् सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसद, कर्मचारीलगायतको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण सम्पन्न भएको बताएको छ ।

साताकाे चर्चित
सम्बन्धित