१६ वर्षीया डोल्मा भन्छिन्– बुबाआमाको मृत्युपछि भोकै रात कटाउने गरेका छौँ
१६ वर्षीया डोल्मा भन्छिन्– बुबाआमाको मृत्युपछि भोकै रात कटाउने गरेका छौँ

बुढिनन्दा नगरपालिका–३ नुरी घर भएकी डोल्मा बुबाआमाको मृत्युपछि तीन भाइबहिनीसहित हिमाली गाउँपालिकाको अर्थगेचौरमा बसाइ सरिन् ।

    • बेल संचार

    • २९ मंसिर २०७८, बुधबार

बाजुरा, 

बुबा र आमाको मृत्युपछि बाजुराको हिमाली गाउँपालिका–४ अर्थगेचौरकी डोल्मा थापा (भोटे)सहित तीन भाइबहिनी कर्णाली करिडोरको सडकछेउमै रहेको छाप्रोमा कष्टकर जीवन बिताइरहेका छन् । छेउमै रहेको कर्णाली नदीको सिरेटोसँग उनीहरूको दैनिकी बितिरहेको छ ।

बुढिनन्दा नगरपालिका–३ नुरी घर भएकी डोल्मा बुबाआमाको मृत्युपछि तीन भाइबहिनीसहित हिमाली गाउँपालिकाको अर्थगेचौरमा बसाइ सरिन् । डोल्माका बुबा लोक थापा भोटेको नौ वर्ष पहिले मृत्यु भएको थियो भने आमा कलिमा थापा भोटेको दुई वर्षअघि मृत्यु भएको थियो । आर्थिक अभावमा उपचार हुन नसक्दा बुवाआमाको मृत्यु भएको उनी बताउँछिन् ।

बुबाआमाको मृत्युपछि १६ वर्षीया डोल्मा थापा, १३ वर्षीय दोज्रो थापा र १० वर्षीया सम्झना थापा बेसाहारा बनेका हुन् । आमाको मृत्युसँगै गाउँमा कोही सहारा नभएपछि ठूलोबुबा नाता पर्ने छिरिङ्ग थेवा थापा भएको ठाउँमा आएको डोल्मा बताउँछिन् ।

गाउँमा केही नपाउने भएपछि सडकछेउमै मागेर भए पनि भाइबहिनी पाल्न सजिलो होला भनेर बसाइ सरेको डोल्माले बताइन् ।

बाधु माबिमा डोल्मा कक्षा आठ, दोज्रो कक्षा पाँच र सम्झना कक्षा दुई मा पढने गरेका छन् ।  जसोतसो विद्यालय जाने गरेका उनीहरू कहिलेकाहीँ भोकै रातसमेत काट्ने गरेका छन् ।

‘कुनै दिन खान नपाएर भोकै रात काट्ने गरेका छाँै,’ गहभरी आँशु पार्दै डोल्मा सुनाउँछिन्, ‘आमाको मृत्यु भएपछि तीन भाइबहिनी अलपत्रमा प¥यौँ, फरक फरक ठाउँमा गएर खाने गरेका थियौँ । तर, अहिले यहाँ त्यस्तो छैन । कहिलेकाहीँ भोकै सुत्नुपर्छ ।’

आफू भोकै बस्नुपरेकोमा भन्दा बढी डोल्मालाई भाइबहिनी भोकै भएकोमा चिन्ता लाग्ने गरेको बताउँछिन् । पालनपोषणसँगै भाइबहिनीको भविष्यको चिन्ताले सताउने गरेको डोल्मालाई उनीहरूकै भविष्यका लागि जस्तोसुकै संघर्ष गर्ने बताउँछिन् । ‘मलाई आफ्नोभन्दा भाइबहिनीको चिन्ता छ,’ डोल्मा न्युज कारखानासँग भन्छिन्, ‘भाइबहिनीको भविष्यको लागि संघर्ष गरिरहेको छु । गरिरहन्छु ।’

विद्यालय बिदा रहेका बेला भारी भोक्न जाने डोल्मा घरमा खानेकुरा नभएको दिन विद्यालय जान छोडेरै मजदुरी गर्न जान्छिन् । ‘बिदाको दिन भारी बोक्न जाने गरेको छु । चामल नभएको दिनमा विद्यालय जान छोडेर मजदुरी गर्न जान्छु । सकेसम्म भाइबहिनीलाई भोकै राख्न नपरोस् भन्ने चिन्ता लाग्छ,’ डोल्मा भन्छिन् । तर, यति गर्दागर्दै पनि कहिलेकाहीँ भोकै विद्यालय जानुपरेको उनी बताउँछिन् ।’

खानलाई मात्र होइन कापीकलमको समेत अभाव छ । ‘कापी कलम किन्ने पैसा हुदैन, चाडपर्व आउँदा सबै राम्रो लुगा लगाउँछन्, मिठो खाने गर्छन्, हामीहरू भने रोएर दिन काट्ने गरेका छौँ,’ डोल्माले भन्छिन् ।

उनीहरू कर्णाली करिडोर अन्तर्गत तिथिचौरमा रहेको सडक छेउको स्थानीयको छाप्रोमा बस्ने गरेका छन् । छाप्रोको मासिक ६ सय भाडा तिर्ने गरेका छिरिङ्ग थेवा थापाले बताए । छाप्रो पनि जीर्ण छ । पानी पर्दा चुहिने गरेको छ । कर्णाली नदीको किनारमै रहेकाले चिसोमा उनीहरू कठ्याङ्गरिदै रात बिताउने गरेका नाताले ठूलो बुबा पर्ने छिरिङ्ग थेवा थापाले बताए ।

उनका अनुसार ओढ्ने ओछ्याउने किन्न पैसा नभएकाले उनीहरूलाई चिसोले सताएको छ । तीन जना एउटा फाटेको कम्बलको सहारामा रात बिताउने गरेको दोज्रोले बताए । आफ्नो पनि आर्थिक अवस्था कमजोर रहेकाले उनीहरूलाई आवश्यकअनुसार सहयोग गर्न नसकेको थापाले बताए ।

‘कहिलेकाहीँ चामल किनेर दिन गरेका छाैँ, कहिले उनीहरू मागेर खान्छन् । आफूसँग पैसा भएको भए सडकै अर्काे छेउमा छाप्रो बनाइदिने थियाँै,’ उनले भने, ‘तर, जीर्ण छाप्रोको भाडा तिरेर बसेका छन् ।’

यही बेला उनीहरूलाई बाजुराको मार्तडीमा रहेको नेपाली सेनाको दुर्गा भञ्ज्याङ्ग गुल्मले सहयोग गरेको छ । उनीहरू बसेकै ठाउँमा पुगेर सेनाले चामल, चिनी, दाल, गेडागुडी, तेल, नुन सहयोग गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित