जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक ः हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक ः हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् ।    

    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

काठमाडौँ

सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् । आर्थिक वर्ष २०७५÷२०७६ मा सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी यो सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन ।

केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विलस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो ।

यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा विसं २०५६ देखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन सुरु भएको छ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताउनुहुन्छ । विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उहाँको गुनासो छ ।

सडक किनारको घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौँको दैनिकी भएको छ । निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने गरे पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकार भएका निकायले पनि यसमा ध्यान दिएका छैनन् । धुलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन सडक किनारका दर्जनौँ स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् । नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहनुभएका डा रोशन पोखरेल सडकमा उड्ने धुलोकै कारण दैनिक दर्जनौँ घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाउनुहुन्छ ।

धुलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएपनि समस्या समाधानमा सरोकार भएका निकायले ध्यान दिएका छैनन् । सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डे भने केही स्थानीयवासीले पानी हाल्न नदिएको दाबी गर्नुहुन्छ । पानी हाले काम गर्न दिँदैनौँ भनी केही मानिसले भन्दा समस्या हुने गरेको उहाँको भनाइ छ । यसअघि विस्तार आयोजना प्रमुख भएर काम गरिसक्नुभएका विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारी भने कति आयोजनाको सम्झौतामै पानी हाल्ने व्यवस्था उल्लेख गरिएको हुने र कतिमा भने सहमतिका आधारमा काम गर्ने गरिएको बताउनुहुन्छ । संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको व्यवस्था गरिएकाले वातावरण नबिगारी विकास निर्माणका काम गरिनुपर्ने उहाँको भनाइ छ ।

धुलोको समस्या छ वर्षअघि नै ठेक्का भएर अलपत्र रहेको जोरपाटी–साँखु सडकमा पनि छ । यो सडकमा पनि निर्माण व्यवसायीले पानी नहाल्दा स्थानीयवासीको स्वास्थ्यमा समस्या भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–५ थलीकी स्थानीयवासी सुम्निमा पुडासैनी घरअघिको सडकको धुलोले दैनिक घरमै बस्दा पनि घाँटी दुख्ने समस्याले सताएको बताउनुहुन्छ । धुलोसँगै सवारीको धुवाँले पनि अप्ठ्यारो हुने गरेको उहाँको दुःखेसो छ । स्थानीय सरकार, विस्तार आयोजनालगायत सरोकार भएका निकायलाई समस्याका बारेमा पटकटपक अवगत गराए पनि समाधान नभएको स्थानीयवासीको भनाइ छ । जोरपाटी–साँखु सडकको ठेक्का पनि विसं २०७२ मै भएको हो । यो सडकको धेरै स्थानमा कालोपत्र भइसके पनि केही स्थानमा घरका कारण विस्तार हुन नसक्दा स्थानीयवासी धुलोले पीडित भएका हुन् । सरकारले उपलब्ध सडकमै कालोपत्र गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।      –पूर्णप्रसाद मिश्र     

साताकाे चर्चित
सम्बन्धित