बाली जोगाउँदा गैंडालाई जोखिम
बाली जोगाउँदा गैंडालाई जोखिम

वन कार्यालयका अधिकारीले आएर हेरे, अनुमान गरे– करेन्ट लागेर मरेको हुनुपर्छ ।

    • बेल संचार

    • ४ पुष २०७८, आईतवार

चितवन

गत सोमबार भरतपुर–१६ विजयनगरको सिद्धि गणेश सामुदायिक वन आडैको खेतमा एउटा वयस्क भाले गैंडा मृत फेला पर्‍यो । वन कार्यालयका अधिकारीले आएर हेरे, अनुमान गरे– करेन्ट लागेर मरेको हुनुपर्छ ।

भरतपुरको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार पोस्टमार्टम रिपोर्टले पुष्टि भयो गैंडा करेन्ट लागेकैले मरेको थियो । तोरी बारीको बीचमा जै घाँस थियो । फूलेको तोरी गैंडाले खाँदैन तर जै घाँस खुबै मन पराउँछ । ‘हाम्रो अनुसन्धान भर्खर सुरु भएको छ । जग्गाधनीसँग पनि बुझेका छौं । खेतको बीचमा करेन्ट छाड्नुको कारण अरू के होला र ? खाग तस्करहरूले गैंडा मारेनन् भन्ने देखिन्छ,’ उनले भने, ‘गैंडा वा अन्य जनावरबाट बाली जोगाउन त्यहाँ करेन्ट लाग्ने बनाइएको थियो कि भन्ने छ ।’ यो घटनालाई वनकर्मीहरूले कसरी निष्कर्षमा पुर्‍याउँछन् भन्ने अनिश्चित छ ।

उक्त वडामा पर्ने नारायणी नदी किनारमा ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी, सिद्धि गणेश र मझुवा सामुदायिक वन छन् । यी वनलाई ‘ज्ञानेश्वर ब्लक’ अन्तर्गतका सामुदायिक वन पनि भनिन्छ । यी वनमा पछिल्ला वर्षमा गैंडाको संख्या बढ्दै गएको छ । एउटै क्षेत्रमा गैंडा धेरै भए आहारा पर्याप्त हुँदैन । त्यसैले गैंडाहरू गाउँतिर छिर्ने र बाली खाने गर्छन् । ज्ञानेश्वर सामुदायिक वनमा ११ वर्षअघि २०६७ भदौमा धानबालीमा वन्यजन्तु पस्न नदिन छाडेको करेन्ट लागेर गैंडा मरेको थियो । त्यसअघि सोही वर्ष जेठमा ज्ञानेश्वरसँग जोडिएको सेतीदेवी सामुदायिक वनमा पनि एउटा गैंडा मरेको भेटिएको थियो । ज्ञानेश्वर ब्लकमा त्यसपछि यस्तो घटना भएको थिएन । तर निकुञ्ज र अन्य वन क्षेत्र आडमा फाट्टफुट्ट नै भए पनि यस्तो हुँदै आएको छ ।

गत असोज ११ मा चितवन निकुञ्जको माडी सेक्टरअन्तर्गत धोबाह पोस्ट आडमा एउटा गैंडा मर्‍यो । गैंडाको खाग खुर सुरक्षित थियो । गहिरो घाउका कारणले गैंडा मरेको थियो । तिखो भाला हानेर भएको घाउले गैंडा मरेको निकुञ्जका अधिकारीहरूले बताएका थिए । ‘कि खेती खान आएपछि लखेट्दै भाला हानेको होला या बँदेल मार्नेहरूले अनाहकमा गैंडालाई हानेको हुनुपर्छ,’ त्यो बेलाका निकुञ्जका अधिकारीहरूको अनुमान थियो । केरा र मकै बारीमा वन्यजन्तु पस्न नदिन थापेको विद्युतीय धरापमा परी करेन्ट लागेर पनि विगतमा गैंडाहरू मरेका छन् । लोपोन्मुख गैंडा मारिनुलाई संरक्षणकर्मीले सरकारको लापरबाही मान्छन् । बेलाबखत विवाद हुन्छ, बाली जोगाउने कि गैंडा ? निकुञ्जका अधिकारी र गस्तीको आँखा छलेर बाली जोगाउनकै लागि धराप थाप्नेहरू अझै पनि सक्रिय छन् ।

निकुञ्जसँग जोडिएका बस्ती र खेती जोगाउने कार्यक्रम नभएका पनि होइनन् । गैंडा मारे कानुन लाग्छ तर वन्यजन्तुले बाली बिगार गरे क्षतिपूर्ति लिन न प्रक्रिया सजिलो छ, न त मुआब्जा पर्याप्त । गैंडा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र या वनभन्दा बाहिर आएर बालीनाली खाएमा किसानले बढीमा १० हजार रुपैयाँसम्म राहत पाउने व्यवस्था छ । वन्यजन्तु संरक्षणमा मध्यवर्ती क्षेत्रका बासिन्दा सकारात्मक भए पनि बाली बिगारको क्षतिपूर्तिमा भने सन्तुष्ट छैनन् । ‘राहत कम नै छ, पाउने प्रक्रिया पनि सरल छैन । रकम बढाउन र प्रक्रिया सजिलो बनाउन माग गरेका छौं,’ निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले भने ।

ज्ञानेश्वर सामुदायिक वन तथा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका पूर्वअध्यक्ष सुरवीर पोखरेल निकुञ्जभन्दा परका वन क्षेत्रमा पछिल्ला वर्ष गैंडाहरू बढेका बताउँछन् । ज्ञानेश्वर ब्लकमा पनि पछिल्लो १०/१२ वर्षमा गैंडाको संख्या निकै राम्रो भएको उनको भनाइ छ । तर वनभित्र गैंडाका लागि एरिया सानो र राम्रो घाँस नहुँदा गाउँ बस्ती छिर्ने क्रम पनि बढेको छ । आहारा खोज्दै आएका गैंडा किसानका खेतबारीमै बरालिने गरेको उनी बताउँछन् ।

गैंडालाई रोक्न तारबार गरे पनि प्रभावकारी नभएको पोखरेलले देखेका छन् । त्यसैले बलियो पर्खाल नलगाई गैंडा रोकिने अवस्था छैन । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख पदमराज नेपाल छेकबारका लागि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्छन् । त्यसैगरी राहत पनि साह्रै नै कम भएको उनले बताए । ‘न राम्रो छेकबार, न क्षति भएमा उचित राहत । त्यसैले किसानहरू बाली जोगाउन आफ्नै खाले उपायमा लागेका हुन्छन्,’ उनले भने ।

साताकाे चर्चित
सम्बन्धित