खलङ्गा,
जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिनुभयो ।
पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उहाँको अवस्था जानकारी गर्न थाल्नुभयो । पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताउनुभयो । महिला बोल्न हिचकिचाइरहनुभएको थियो । केही छिनमा उहाँलाई बाहिर बोलाएर गुम्बा अगाडि उहाँको परिचय र अवस्थाका बारेमा जानकारी लिन खोज्दा ८३ वर्षीया ज्येष्ठ नागरिक महिलाले अहिलेसम्म नागरिकता प्राप्त गर्न सक्नुभएको छैन ।
मुगुको डोल्पु स्थायी ठोगाना बताउने महिला वर्षौंदेखि बास र गाँसको खोजीमा भौतारी रहनुभएको छ । जुम्ला सदरमुकाममा चार वर्षदेखि माग्दै हिँड्ने गर्नुभएकी र अन्तिममा बस्ने व्यवस्था कतै नभएपछि उहाँ गुम्बाको आश्रयमा गएर ओत लिइरहनुभएको छ ।
नाम साङ्गे फटिङ बताउने ती महिलाले २० वर्षदेखि जुम्लाको चौधबिस क्षेत्रमा बसेर साहाराविहीन भएपछि जीवन जिउन सदरमुकाम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “चौधबिसको खालाढिकमा विवाह गरेको तर श्रीमान् र छोरा दुवैको मृत्यु हुँदा आफू एक्लिएपछि साहाराविहीन भएकी छु, श्रीमान् र जवान छोरा रोगले मरेपछि र आफ्नो कोही नभएपछि अहिले गुम्बाको आडमा बसिरहेकी छु ।”
उहाँको साहारामा अहिले उर्गेन र्तीनजङ गुम्बाका ७८ वर्षीय गुरु कांसर लामा र ५९ वर्षीय टोमा लामा हुनुहुन्छ । उहाँहरुले पछिल्लो समय बास र गाँस दिइरहेको बताउनुभयो । अहिलेसम्म ती वृद्धाको नागरिकतासमेत छैन । कसरी बनाउने भन्नेमा आफूलाई पनि थाहा नभएको गुरु कांसरले बताउनुभयो ।
राहतले जीवन बचायो
साहाराविहीन भएकी वृद्धा महिलाको अवस्था बुझेपछि स्थानीय छिमेकीको सहयोगमा भने अहिले खाद्यान्न सहयोग पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँग आबद्ध स्थानीय सामाजिक क्षेत्रमा कार्यरत संस्था अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले ती महिलाको अवस्थाका विषयमा अध्ययन गरिसकेपछि अहिले उहाँलाई सिविएम नेपालको सहयोगमा आइएनएफ जुम्लाले कोरोना राहत कार्यक्रमले सघाउ पु¥याएको छ । उहाँलाई पहिलो चरणमा ६० किलो चामल, दालसहित आधारभूत खाद्यान्न उपलब्ध गराइएको छ