रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै
रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै

रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो ।     

    • बेल संचार

    • ६ पुष २०७८, मंगलवार

मान्म, ६ पुस  
रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो ।

हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिनुभयो । “कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा कालोपत्र तथा ग्राभेल हुनेछ”, उहाँले भन्नुभयो, “एक वर्ष अवधिको सम्झौता रहेको छ । त्यही आधारमा कालोपत्रको काम एक वर्षमा सम्पन्न हुनेछ ।”

नगरपालिका भित्रैका नौवटै वडासम्म सडक पुगेको र सबै वडामा सडक सञ्जालले जोडिएको उहाँले बताउनुभयो । “क्रमशः सबै वडामा पुगेका ग्रामीण सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “हामीले नौवटै वडामा आफ्नै नगरपालिकाले स्काभेटर(डोजर) मार्फत सडक निर्माणको काम गरिरहेका छौँ ।”

नगरपालिका क्षेत्रका बस्ती बस्तीमा सडक पु¥याउने योजना रहेको र समाजलाई सम्झाउन नसक्दा आफ्नो प्रतिबद्धताअनुसार काम हुन नसकेको नगर प्रमुख काशीचन्द्र बरालले बताउनुभयो । “हामीले नागरिकसँग गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले ग्रामीण सडक मात्र निर्माण गरेका छैनौँ । त्यसको स्तरोन्नति र मर्मतसम्भारलाई त्यतिकै ध्यान दिएका छौँ ।”

जिल्लाका नौ वटा स्थानीय तहमध्ये ग्रामीण सडक कालोपत्र गर्ने पहिलो नगरपालिका भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताउनुभयो । “जिल्लाका प्रायः सबै स्थानीय तहमा सडक पुगेका छन्”, उहाँले भन्नुभयो, “रास्कोट नगरपालिका जिल्लाकै पहिलो ग्रामीण सडक कालोपत्र गर्ने नगरपालिका भएको छ ।”

साताकाे चर्चित
सम्बन्धित