कांग्रेस प्रदेश नम्बर २ मा आज मतदान हुँदै, को को छन् चुनावी प्रतिस्पर्धामा ?
कांग्रेस प्रदेश नम्बर २ मा आज मतदान हुँदै, को को छन् चुनावी प्रतिस्पर्धामा ?
    • बेल संचार

    • ८ पुष २०७८, बिहीबार

नेपाली कांग्रेसको प्रदेश नम्बर २ मा आज पहिलो पटक प्रदेश अधिवेशन हुने भएको छ ।

आज विहान ८ बजेबाट मतदान शुरु हुने निर्वाचन कार्यतालिका छ । उम्मेदवारको मनोनयन मंगलबार गरिएको थियो। बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको हो । निर्वाचन अधिकृत प्रल्हाद गौतमले मत पत्र छपाइ नै बाँकी रहेकोले बिहीबारका लागि मतदानको समय तय बताउनुभयो ।

जनकपुरस्थित गोपाल धर्मशालामा आज बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिनुभएको छ ।

मतदानस्थल वरपर बुधबारदेखि नै सुरक्षाव्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र शशस्त्र प्रहरी खटिएका छन्।

निर्वाचन समितिले दिएको जानकारीअनुसार ७२ पदका लागि एक सय ७४ जनाले उम्मेदवारी दिएका छन्।

कृष्ण प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र सर्लाहीका नेता वीरेन्द्र सिंहले उम्मेदवारी दिनुभएको छ ।

साथै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिनुभएको छ ।

रामाधारप्रसाद यादवले पनि उपसभापतिमा उम्मेदवारी दिनुभएको छ ।
दुई महामन्त्रीका लागि रामसरोजको प्यानलबाट सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेसप्रसाद महतोले उम्मेदवारी दिनुभएको छ ।

महामन्त्रीमै कृष्णको प्यानलबाट सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
नेता विनोद चौधरीले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ ।

एक महिलासहित तीन सहमहामन्त्री पदमा पनि दुई प्यानलबाटै उम्मेदवारी परेको छ।

कृष्णको प्यानलबाट सप्तरीका परशुराम चौधरी र बाराका जयनरायण यादवले सहमहामन्त्रीमा उम्मेदवारी दिए।

रामसरोजको प्यानलबाट महोत्तरीका विनोद यादव र पर्साका अरविन्द अमात्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

नेताहरू रामनारायण महासेठ, नारायण चौधरी, निरु पोखरे र बिन्दुकुमारी यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्।

एक महिला सहमहामन्त्रीका लागि कृष्णको प्यानलबाट सप्तरीकी रिता यादव र रामसरोजको प्यानलबाट बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिनुभएको छ । यस्तै रेखा देवी महरानले समेत महिला सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएको छ ।

प्रदेश सदस्य खुलामा १४ पदका लागि ५० जनाको उम्मेदवारी परेको छ।

प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खसआर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ।

साथै प्रदेश सदस्य मधेशी खुला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला  २ पदका लागि ५, प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको हो।

साताकाे चर्चित
सम्बन्धित