नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अनावश्यक दबाब नदिने अपेक्षा गरेको बताएका छन्।
न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले एमसिसीकै कारण गठबन्धन नतोडिने दाबीसमेत गरेका छन्।
प्रधानमन्त्री देउवा अमेरिकी अनुदान सहयोग एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन गरेर अघि बढ्नु पर्ने धारणा राखिरहेका छन्।
‘हिजोमात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो। बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने (एमसिसीबारे) कि भन्ने थियो’, प्रचण्डले भने, ‘हाम्रो राष्ट्रिय सम्मेलन आइसक्यो भनेपछि उहाँले हुन्छ हुन्छ राष्ट्रिय सम्मेलनपछि गरौँ भनेर सहज ढंगले सहयोगी रूप देखाउनुभयो। प्रधानमन्त्रीले पनि यो विषय बुझ्नुभएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने लाग्दैन।’