१४औँ महाधिवेशन : आफूमाथिको आरोप गलत सावित गर्न देउवालाई अन्तिम अवसर
१४औँ महाधिवेशन : आफूमाथिको आरोप गलत सावित गर्न देउवालाई अन्तिम अवसर
    • बेल संचार

    • ११ पुष २०७८, आईतवार

सतारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन भएको दश दिनपछि सबै पदको मतगणना सकिएको छ । नीतिभन्दा पनि नेतृत्व चयनमा केन्द्रित बनेको कांग्रेसको १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा आधाभन्दा बढी नयाँ अनुहार समेटिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका विभिन्न पदमा ४ सय ९१ जनाले उम्मदारी दिएका थिए । ती उम्मेदवार मध्येबाट १३ पदाधिकारी र एक सय १९ सदस्य गरी एक सय ३२ जना निर्वाचित हुँदा प्रदेश–२ बाट आनन्द्रप्रसाद ढुंगाना र रमेश रिजाल भने सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

पार्टीको विधानअनुसार सभापतिका निकटतम प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुँदा एक सय ३५ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ । विधानतः एक सय ६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिमा बाँकी ३३ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनित गर्नु हुनेछ ।

केन्द्रीय सदस्यमा खुलाबाट ३५ जना, महिला नौ, भूगोलतर्फ प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी सात प्रदेशबाट २१ जना, थारु चार, मुस्लिम तीन, दलित नौ, आदिवासी जनजाति १५, खसआर्य १३, मधेशी नौ र अपांगता, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।

यसपटक महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा ७९ जना नयाँ अनुहार समेत समेटिएका छन् । एक सय ३५ केन्द्रीय कार्यसमितिमा ९४ जना पुरुष र ४१ महिला रहनुभएको छ । कांग्रेसले पहिलो पटक १४औँ महाधिवेशनबाट तल्लो तहदेखि केन्द्रसम्म समावेशी प्रतिनिधित्व गराएको हो ।

महाधिवेशनको मतपरिणाम अनुसार संस्थापन पक्षलाई दुई तिहाई मत प्राप्त भएको छ । निर्वाचित एक सय ३२ केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षका एकसय दश र इतर पक्षमा २२ जना रहेका छन् । पदाधिकारी र केन्द्रीय कार्यसमितिमा बहुमत भएकाले सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशनबाट झन शक्तिशाली बनेका बन्नुभएको छ । सभापति देउवाले उक्त बहुमतलाई कसरी लिनुहुन्छ त्यो भने आगामी दिनले देखाउने नै छ, तर पार्टीभित्रै लोकप्रिय देखिएका युवा पुस्ताका नेता महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई चुनौति दिन सक्ने आँकलन गरिएको छ ।

त्यस्तै, महाधिवेशनबाट पार्टीमा प्रभावशाली मानिएका कतिपय नेताहरु प्रतिस्पर्धाबाट बाहिरिए भने कतिपय केन्द्रीय सदस्यमै सिमित रहन पुगे । यसपटक कांग्रेसमा विरासत बोकेका बीपी, गणेशमान र महेन्द्रनारायण निधि तीनै परिवारका सदस्य पदाधिकारीमा नै अटाउन सकेनन् ।

अब सभापति देउवाका सामू पार्टीभित्र गुटहरुको अन्त्यगरी सबैलाई समेटेर अघि बढ्नुपर्ने र पार्टीलाई विधि विधान अनुसार हिडाउन सक्नुपर्ने चुनौति थपिएको छ । विगतको कार्यकालमा पार्टीलाई कमजोर स्थितीमा पुर्याएको आरोप खेप्नु भएका सभापति देउवाले त्यसलाई गलत साबित गर्नसके अब कार्यकाल देउवाका लागि सफल ठहरिन्थो कि ।

साताकाे चर्चित
सम्बन्धित