काठमाडौं उपत्यकामा वर्षासँगै चन्द्रागिरिसहित उच्च डाँडामा हिउँ पर्यो, कहाँ कहाँ पर्छ हिउँ ?
काठमाडौं उपत्यकामा वर्षासँगै चन्द्रागिरिसहित उच्च डाँडामा हिउँ पर्यो, कहाँ कहाँ पर्छ हिउँ ?

हिउँमा रमाउन चाहनेका लागि फुलचोकी डाँडा सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहने गरेको छ ।

    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

मंगलवार रातिदेखि परेको वर्षासँगै काठमाडौं उपत्यकाका उच्च डाँडाहरुमा हिउँ परेको छ ।

काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिनुभएको हो ।

मौसम चिसिएको समयमा वर्षा हुँदा काठमाडौं आसपासका डाँडाहरुमा  हिउँ पर्ने गरेको छ ।

यी हुन् हरेक वर्ष हिउँपर्ने काठमाडौं आसपासका ठाउँहरु

फुलचोकी डाँडा

ललितपुरको फुलचोकी डाँडामा हरेक वर्ष हिउँ पर्ने गरेको छ । हिउँमा रमाउन चाहनेका लागि फुलचोकी डाँडा सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहने गरेको छ । तुलनात्मक रुपमा बढी हिउँपर्ने भएकोले यहाँ हिउँ खेल्न जानेको भीड नै लाग्ने गरेको छ ।

मनोरम पर्वत फुलचोकी डाँडा पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा पर्दछ । समुन्द्री सहतदेखि १ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको यो डाँडा काठमाडौं उपत्यकाकै सबैभन्दा अग्लो स्थानसमेत हो । तर हरेक वर्ष हिउँ खेल्न जानेहरुले बाटो बिर्सदा सास्ती खेप्नुका साथै कतिपय अवस्थामा दुर्घटनाको जोखिम समेत हुने गरेको छ ।

नगरकोट

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित धौलागिरी, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु जस्ता हिमालहरुको दृष्यावलोकन लागि पनि नगरकोट प्रसिद्ध छ । हरेक वर्ष हिउँदमा यस क्षेत्रमा पनि हिउँ पर्ने भएकोले हिउँमा रमाउन चाहनेका लागि नजिकको गन्तव्यका रुपमा रहेको छ ।

जर्सिङपौवा

काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । यहाँ सुविधायुक्त रिसोर्टहरु समेत खुलेका छन् । यहाँ विश्वकै लामो जीपलाइनको निर्माण भैरहेको छ । राजधानीबाट १९ किलोमिटरको दुरीमा शंखरापुर नगरपालिकामा पर्ने जर्सिङपौवा क्षेत्रमा पनि हिउँदमा हिउँ पर्ने गरेको छ । यहाँ हिउँदमा हिउँ खेल्न जानेहरुको भीडनै लाग्ने गरेको छ ।

शिवपुरी

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने शिवपुरी डाँडा क्षेत्रमा हिउदमा हिउँ पर्ने गरेको छ । काठमाडांैबाट नजिककै पर्ने भएकोले हिउँदमा यहाँ हिउँ खेल्न जानेको संख्या उल्लेख्य हुने गर्दछ । यस क्षेत्रमा पनि हिउँदमा बाटो बिराउने र हराउने सम्भावना हुने भएकोले नेपाली सेनाले एक्लै यात्रा गर्न भने रोक लगाउने गरेको छ । तर समूहमा जानेका लागि भने कुनै रोकतोक हुँदैन ।

चन्द्रागिरी

चन्द्रगिरी डाँडा उपत्यका नजिक हिउँ पर्ने अर्को प्रसिद्ध गन्तव्य हो । अहिले चन्द्रागिरी रिसोर्ट र केवल कार निर्माणपछि पर्यटकीय चहलपहल बढेको यहाँ हिउँदमा हिउँ पर्ने समयमा अझ बढी भीड लाग्ने गरेको छ ।

काभ्रेको धुलिखेल, मकवानपुरको दामान र पालुङ, दोलखाको कालिञ्चोक र जिरी, रामेछापको शैलुङ क्षेत्र आदि पनि हरेक वर्ष हिउँमा रमाउने जानेको प्रमुख गन्तव्य बन्ने गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित