रौतहटमा पक्राउ परेका जनमत पार्टीका १२ कार्यकर्ता रिहा
रौतहटमा पक्राउ परेका जनमत पार्टीका १२ कार्यकर्ता रिहा
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

रौतहट । बिहानै गौरमा पक्राउ परेका जनमत पार्टीका पाँच कार्यकर्ता रिहा भएका छन् । बुधवार बिहान प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएकाे पाँच कार्यकर्ता रिहा भएका हुन् ।

गरुडामा तीन सवारी साधन तोडफोड गरेको आरोपमा पार्टीका ७ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सातै जनालाई सम्झाइ बुझाइ रिहा गरिएको इलाका प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

एक्कासी मौसम परिवर्तन कारण जनमत पार्टीले घोषणा गरेको रौतहट बन्दको प्रभाव आंशिक रुपमा देखिएको थियो ।मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वरप्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए ।

किसानको समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै जनमत पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेका छन् । राज्यले किसानका जायज मागहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माग पूरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

बिहान पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य एवं प्रशासन विभागका प्रमुख ललित मलिक सानू, युवा जनमत संघ रौतहटका अध्यक्ष ज्वाला रणवीर (विवेक), विकास कुमार यादव, रवीन्द्र यादव र धिरज कुँवर रिहा भएका हुन् ।

गौर र गरुडा गरी कूल १२ जना कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको  थियो । पक्राउ परेका सबै कार्यकर्ता रिहा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित