देउवाले संसदीय समितिलाई पूर्णता दिन्छन् कि त्यसै टिकट बाँड्छन्?
देउवाले संसदीय समितिलाई पूर्णता दिन्छन् कि त्यसै टिकट बाँड्छन्?

१४ औं महाधिवेशनबाट निर्वाचित समितिको यो दोस्रो केन्द्रीय समिति बैठक हो।

    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्ने ‘एकल’ एजेन्डाका लागि आज केन्द्रीय समिति बैठक राखेको छ।

१४ औं महाधिवेशनबाट निर्वाचित समितिको यो दोस्रो केन्द्रीय समिति बैठक हो।

यसअघि पुस १० मा निर्वाचन समितिले प्रमाण पत्र दिएलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेर निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।

कांग्रेसले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक राखेको छ। त्यसअगाडि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा राखेका छन्।

आज बिहान ९ बजे गठबन्धन बैठक बस्दैछ। यो बैठकबाट कुन दलले कति सिट पाउने यकिन हुनेछ।

राष्ट्रिय सभामा १९ पद रिक्त छ।

गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले भागबन्डा उम्मेदवार तय गर्न लागेका छन्।

कांग्रेसले पाउने सिट संख्या गठबन्धन बैठकबाट निर्धारण गरेपछि आज बस्ने केन्द्रीय समितिमा कसरी उम्मेदवार तय गर्ने भन्ने एजेन्डाले प्रवेश पाउनेछ।

मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समितिलाई पूर्णता दिन्छ कि दिँदैन भन्ने चासोसाथ हेरिएको छ।

सभापति शेरबहादुर देउवा विधानअनुसार अगाडि बढ्ने हो भने आज उनले संसदीय समितिमा थप ११ जना मनोनीत गरेर पूर्णता दिन सक्छन्।

कांग्रेस विधानअनुसार केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ। कांग्रेसमा १४ पदाधिकारी हुने भए पनि अहिले १३ जना मात्रै छन्, सभापतिले कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ।

केन्द्रीय संसदीय समितिमा पदाधिकारीबाहेक थप ११ जना सभापति देउवाले मनोनीत गर्न सक्छन्। केन्द्रीय सदस्य मध्येबाट संसदीय समिति सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था छ।

हेर्नुस् विधानको व्यवस्था:

सभापतिले मनोनीत गरेका ११ सदस्यलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ भने यस्ता सदस्य मनोनीत गर्दा समावेशी सिद्धान्तलाई सभापतिले हेक्का गर्नुपर्ने विधानले उल्लेख गरेको छ।

सभापति देउवानिकट एक पदाधिकारीका अनुसार आज संसदीय समितिमा थप केही मनोनीत गर्ने तयारीमा सभापति देउवा छन्।

‘संसदीय समितिमा १३ जना पदाधिकारी रहन्छन्। त्यसमा थप ११ जना सभापतिले सदस्यहरू मनोनीत गर्न सक्नुहुन्छ,’ ती पदाधिकारीले भने, ‘आज ११ जना नै मनोनीत सम्भव नभए पनि सभापतिले केही सदस्य थप गर्नुहोला।’

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार भने संसदीय समितिबाट नै तय गरिने ती पदाधिकारीको दाबी थियो।

‘थप सदस्य मनोनीत नभए संसदीय समितिमा पदाधिकारी पदेन सदस्य रहने भएकोले त्यो समितिले उम्मेदवार तय गर्न सक्छ,’ ती पदाधिकारी भन्छन्, ‘संसदीय समितिलाई पूर्णता दिन तयारी गर्न समय पनि कम हुन सक्छ।’

विधि र प्रक्रियाअनुसार नै उम्मेदवार तय गर्न सभापति देउवामाथि दबाब छ। पुस १० मा बसेको केन्द्रीय समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्दा सभापति देउवाकै हस्ताक्षर प्रयोग गर्ने निर्णय गरिसकेको छ।

सभापतिमा देउवासँग पराजित भएका नेता शेखर कोइराला पक्षले भने राष्ट्रिय सभामा टिकट दिँदा पार्टीमा सबैसँग छलफल हुनुपर्ने र विधिअनुसार संसदीय समितिलाई नै पूर्णता दिई निर्णय गर्नुपर्ने बताइरहेका छन्।

‘उहाँ (सभापति) विधानअनुसार नै चल्नुपर्छ, संसदीय समितिबाटै उम्मेदवार तय गरेर जानुपर्छ,’ शेखरनिकट एक नेता भन्छन्, ‘संसदीय समितिलाई पूर्णता दिइयोस्। हामीले भाग खोजेको भन्ने होइन तर सबैलाई समेटिनुपर्छ।’

सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अहिलेसम्म १३ जना मनोनीत गरिसकेका छन्। यीमध्ये कुनै पनि शेखर पक्षका छैनन्। शेखर पक्षका नेताहरू सभापतिले सबैलाई समेट्ने भन्दा पनि मनोनीतमा एकलौटी गर्न खोजेको आरोप लगाउँछन्।

साताकाे चर्चित
सम्बन्धित