क्यान–खेलाडी विवाद सहमतिउन्मुख, क्रिकेट प्रशिक्षणमा फर्किए खेलाडी
क्यान–खेलाडी विवाद सहमतिउन्मुख, क्रिकेट प्रशिक्षणमा फर्किए खेलाडी
    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएको छ ।

विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण सुरु गरेका हुन् । दोस्रोपटक नेपाली टोली हेर्दै गरेका पुबुदुले पहिलो दिन १४ खेलाडीलाई मैदानमा प्रशिक्षण गराए । ६ खेलाडी होटलमा रहँदा नौ खेलाडीले भने पीसीआर पिोर्टको प्रतीक्षामा रहेका छन् । भोलिसम्म पीसीआर नेगेटिभ आए प्रशिक्षणमा उपलब्ध हुने जानकारी गराएका छन् ।

यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता) मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

यसपछि विवाद सतहमा आएसँगै चार खेलाडीलाई समर्थन गर्दै अन्य खेलाडीले समेत क्रिकेट प्रशिक्षणमा नफर्कने क्यानलाई बताएका थिए । प्रशिक्षक पुबुदुले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा १४ खेलाडीमात्रै सुरुआती प्रशिक्षणमा सामेल भए । केही खेलाडी भने हिजो रातिमात्रै मोफसलबाट आएर होटल रिपोर्ट गरेका थिए ।

सोमबारको बिहानी अभ्यास सत्रमा भने निवर्तमान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा गरी नौ खेलाडी पीसीआर नगरेकाले टोलीमा उपलब्ध भएनन् । कप्तान सन्दीप लामिछाने विग बास लिग खेल्न अस्ट्रेलियामा छन् ।

आइतबार कप्तान ज्ञानेन्द्र, क्यान अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र प्रशिक्षक पुबुदु दासानायकेसहितको टोलीको औपचारिक बैठकपछि खेलाडी खेल्न तयार भएका हुन् । बैठकमा ज्ञानेन्द्रले आफ्ना समकक्षी साथीहरूसँग सल्लाह गरेर ९ बजे प्रशिक्षणमा सामेल हुने बताएकाथिए । त्यसअघि ज्ञानेन्द्रले आफ्नो कप्तानीसहित ६ महिनाको कारबाही फिर्ता हुनुपर्ने माग राखेका थिए । तर क्यानले कुनै पनि हालतमा कप्तानी फिर्ता नहुने र ६ महिने कारबाही फिर्ता लिने सहमती भएसँगै खेलाडी खेल्न तयार भएका हुन् ।

ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

साताकाे चर्चित
सम्बन्धित