जनवादलाई ‘म हो वाद’मा झारियो – माओवादी महाधिवेशनबारे भीम रावलको टिप्पणी
जनवादलाई ‘म हो वाद’मा झारियो – माओवादी महाधिवेशनबारे भीम रावलको टिप्पणी

माओवादी महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’मा झारेको रावलले टिप्पणी गरेका छन्।

    • बेल संचार

    • २१ पुष २०७८, बुधबार

नेकपा एमालेका नेता भीम रावलले हालै सकिएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन प्रक्रियाबारे टिप्पणी गरेका छन्।

माओवादी महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’मा झारेको रावलले टिप्पणी गरेका छन्।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे भने महाधिवेशन प्रतिनिधिले अनुमोदन गरेका थिए।

केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्ड पुन: निर्वाचित भएका थिए।

माओवादीको महाधिवेशनबारे टिप्पणी गर्दै रावलले भनेका छन्, ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो।’

माओवादीमा महाधिवेशन प्रतिनिधिले चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गरिएको पनि रावलको भनाइ छ।

‘महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो,’ आज ट्वीट गर्दै रावलले भनेका छन्।

मंसिरमा चितवनमा सकिएको एमाले महाधिवेशनमा रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। त्यसबेला ओलीले अध्यक्षमा निर्विरोध हुन खोजे पनि रावलले उम्मेदवारी दिएपछि चुनाव भएको थियो।

साताकाे चर्चित
सम्बन्धित