आन्दोलन चर्किँदै गएपछि कजाखस्तानका राष्ट्रपतिले मन्त्रिपरिषद् भंग गरे, विदेशी सेना बोलाए
आन्दोलन चर्किँदै गएपछि कजाखस्तानका राष्ट्रपतिले मन्त्रिपरिषद् भंग गरे, विदेशी सेना बोलाए

द न्युयोर्क टाइम्सका अनुसार बुधबार कजाखस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकाएभले रूसी नेतृत्वको सैन्य गठबन्धनलाई आफ्नो देशको आन्दोलन दबाउन सेना पठाइदिन आग्रह गरेका थिए।

    • बेल संचार

    • २२ पुष २०७८, बिहीबार

मध्य एसियाली मुलुक कजाखस्तानमा एक सातामै चर्किएको आन्दोलनले विदेशी सेना बोलाउनु पर्ने भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार बुधबार कजाखस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकाएभले रूसी नेतृत्वको सैन्य गठबन्धनलाई आफ्नो देशको आन्दोलन दबाउन सेना पठाइदिन आग्रह गरेका थिए।

उनको आग्रहबमोजिम कलेक्टिभ सेक्युरिटी अर्गनाइजेसन गठबन्धनका सेनाहरू कजाखस्तान आउन लागेका हुन्। उक्त अर्गानाइजेसनमा पूर्व सोभियत युनियन राष्ट्रहरू रूस, अर्मेनिया, बेलारूस, कजाखस्तान, किर्गिजस्तान र ताजिकिस्तान सदस्य छन्।

अहिले अर्गनाइजेसनको अध्यक्षता गरिरहेका अर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्याले विज्ञप्ति जारी गर्दै राष्ट्रपति तोकाएभको अनुरोध अनुसार शान्ति सैनिक कजाखस्तान जाने बताएका छन्। उनले राष्ट्रपति  तोकाएभले जहिलेसम्म आवश्यकता देख्छन् त्यतिञ्जेल विदेशी सैनिकहरू कजाखस्तानमा रहने जानकारी दिएका छन्।

कति सैनिक कजाखस्तान जान लागेका हुन भन्नेबारे केही खुलाइएको छैन।

मध्य एसियाको धनीमध्येको राष्ट्र कजाखस्तानमा यही सातामात्रै आन्दोलन सुरू भएको हो। सरकारले गाडीमा प्रयोग हुने एलपिजी ग्यासको मूल्य बढाएपछि पश्चिमी कजाखस्तानमा विरोध सुरू भएको थियो।

चार दिनपछि उक्त आन्दोलन धेरै ठाउँमा फैलिएको छ। प्रदर्शनकारीहरूले सरकारी भवन, गाडी, टेलिभिजन स्टेशन र अलमाटी सहरको विमानस्थलमा तोडफोड गरेका छन्।

‘अलमाटीमा आक्रमण, तोडफोड र क्षति भयो। अमाटीवासी आतंकवादी र लुटेराको शिकार भए। हाम्रो राज्यलाई जोगाउन  सम्भव भएसम्मका सबै काम गर्नु हाम्रो दायित्व हो,’ राष्ट्रपति तोकाएभले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्।

प्रहरीले आन्दोलन दबाउन ग्रिनेड र अश्रुग्यास हानेको थियो। कजाखस्तान सरकारलेअहिलेसम्म ८ जना सुरक्षाकर्मी मारिएको जनाएको छ। प्रदर्शनकारीतर्फ कति मानिसको हताहती भयो भन्नेबारे कुनै विवरण आएका छैनन्।

आन्दोलन चर्किन थालेपछि सरकारले वृद्धि भएको एलपिजी ग्यासको मूल्य फिर्ता लिएको थियो। राष्ट्रपति तोकाएभले प्रधानमन्त्री आस्कार मामिनको मन्त्रिपरिषद् पनि भंग गरेका थिए र संकटकाल घोषणा गरेका थिए।

राष्ट्रपतिका यी कदमले आन्दोलन मत्थर भएन। अहिले आन्दोलनकारीहरूले राजनीतिक र आर्थिक पुनर्संरचनाको माग समेत राखेका छन्। मुलुक धनी भए पनि सबै नागरिकले समान अवसर नपाएको  र सरकारले प्रजातान्त्रिक अधिकारहरूलाई कुन्ठित गर्दै लगेको उनीहरूको आरोप छ।

एक करोड ९० लाख जनसंख्या भएको कजाखस्तानमा झन्डै ३० वर्षसम्म नुरसुल्तान नजरबाएभले शासन गरेका थिए। सन् २०१९ मा राष्ट्रपति छोडेका नुरसुल्तानले आफूलाई राष्ट्रपतिभन्दा माथि राखेका थिए। नुरसुल्तानले तानाशाही शैलीमा शासन चलाए पनि त्यतिबेला कजाखस्तान  स्थिरताका लागि चिनिन्थ्यो र त्यहाँको ऊर्जा क्षेत्रमा ठूलो मात्रामा विदेशी लगानी पनि आएको थियो।

कजाखस्तानको राजधानीको नाम पनि उनकै नामबाट नुरसुल्तान राखिएको हो। राष्ट्रपति छोडेपछि उनलाई राष्ट्रको नेता भन्न थालिएको थियो। तोकाएभ राष्ट्रपति भए पनि नुरसुल्तानले अहिले पनि कजाखस्तानको सत्ता चलाउँछन् भन्ने विश्वास गरिन्छ।

पछिल्लो समय युक्रेनको सीमामा सैन्य उपस्थिति बढाइरहेको रूसले कजाखस्तानको संकटलाई कसरी ह्यान्डल गर्छ भन्ने आमचासो छ। कजाखस्तान र रूसबीच लामो सीमा जोडिएको छ।

साताकाे चर्चित
सम्बन्धित