‘नेपाली खानालाई विश्वमा चिनाउँ’
‘नेपाली खानालाई विश्वमा चिनाउँ’

 कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभयो ।

    • बेल संचार

    • २५ पुष २०७८, आईतवार

काठमाडौँ
नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ ।
सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभयो । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवद्र्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरु राख्नुपर्ने दबाब दिने उहाँको भनाइ थियो ।

विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दाबढीलाई होटल तालिम प्रदान गरिसकिएको बताउनुभयो ।

एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ । कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जीतबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिएसन लाग्नुपर्नेमा जोड दिनुभयो ।

एशोसिएसनको तथ्याङ्कअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

एशोसिएसनको अध्यक्षमा लामा

एशोसिएसनको भर्खरै सम्पन्न नवौँ अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित