राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न नसक्ने अर्थ सचिव मधु मरासिनीले बताउनुभएको छ ।
४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उहाँले बताउनुभएकाे हाे ।
संघीय संसद्, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिको सोमबारको बैठकमा अर्थ सचिव मरासिनीले सरकारले निगममा थप लगानी गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । निगमलाई सञ्चलन गर्नका लागि विकल्प आएमा सरकारले सघाउने तर अहिलेको अवस्थामा त्यहाँ थप लगानी गर्न नसकिने मरासिनीले बताउनुभयो ।
विगतमा निगम अन्तर्राष्ट्रियस्तरमा नै प्रतिस्पर्धी बनोस् भनेर सरकारले सहयोग गरोको तर अहिले निगम धराशयी अवस्थामा पुगेको उहाँको दाबी छ ।
निगममाथि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र चिनियाँ एभिकको गरी ४७ अर्ब ऋण रहेको सचिव मरासिनीले जानकारी दिनुभयो । निगमले कर्मचारी र सर्वसाधारणले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गरेको रकम तिर्नुपर्ने उहाँको भनाइ थियो ।